
टाँडी । मोरङको मिक्लाजुङमा एक युवा १४ दिनदेखि निरन्तर एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहेका छन् ।
मिक्लाजुङ–४, हात्तीमारा सिरानका २३ वर्षीय रोहित तामाङ फागुन ९ देखि एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहेका हुन् । घर नजिकै रहेको विशाल मैनाको रुखमुनि उनी ध्यानमा बसिरहेका छन् । रुखको तल्लो भागमा आगो लागेर ठुलो टोड्को परेको छ । त्यही टोड्काभित्र गौतम बुद्धको तस्बिर राखेर उनी ध्यानमा बसेका छन् ।
घरमा भाइसँग बस्दै आएका रोहितकी आमा रहेकी छिन् भने बाबु लोकबहादुर कान्छी लिएर बसेका छन् ।
अविवाहित रोहितले कक्षा १० सम्म अध्ययन गरेका छन् । रोहितले गत माघ १० देखि एकाएक आफूलाई अध्यात्ममा लागेका छन् । रोहितले माघ १० देखि आफन्त, साथीभाइ सबैलाई तपाईं भन्न थाल्नुभयो । कोहीसँग ठट्टा नगर्ने, धेरै नबोल्ने, चाहिएको मात्र बोल्न थालेका उनले बौद्ध धर्मको अनुयायी बनेर २७ औँ धर्मकुण्डली सफाइ गर्ने भन्दै ध्यान सुरु गरेको भाइ नबिनले बताएका छन् ।
स्थानीय छिमेकी र आफन्तसमेत उनको दिनचर्या परिवर्तन भएको देखेपछि चकित भएका छन् । मिक्लाजुङ–४ का वडाध्यक्ष विशाल राईले रोहितको दिनचर्या एकाएक परिवर्तन भएपछि समाज नै चकित परेको बताएका छन् । उनी औसत मानिस जस्तै नियमित काम गर्ने, खाने गर्थे । उनमा कुनै मानसिक समस्या थिएन । मैनाको विशाल रुखका हाँगा हाँगामा केही पनि नसमाइकन हिँडेको देखेपछि सबै अचम्मित भएका छन् । त्यो रुखमा चढ्न नै गाह्रो छ । चढेर हाँगा हाँगामा हिँड्न झन् गाह्रो छ ।