
उर्लाबारी । यही फागुन २५ गतेदेखि हुने पाँचौ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिताको तयारी भइरहेको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा उर्लाबारी फूटबल क्लबको आयोजनामा हुने सो प्रतियोगिता तयारी भइरहेको हो । प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी नगरपालिका–३ र ८ बीच प्रतिष्पर्धा हुने भएको छ ।
प्रतियोगितामा उर्लाबारीका ९ वडाले खेल्ने छन् । उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन रहेको पाँचौ संस्करणको उक्त प्रतियोगितालाई उर्लाबारी नगरपालिकाले कुल ५ लाख रुपैयाँ सहयोग गरेको छ भने उक्त प्रतियोगिता समापन गर्न कुल लागत ७ लाख अनुमान गरिएको उर्लाबारी फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य दिपेन्द्र धिमालले जानकारी दिनुभयो । जिल्ला फुटबल संघ मोरङको प्राबिधिक सहयोगमा हुने उर्लाबारी मेयरकपको पाँचौ संस्करणको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । चौथो उर्लाबारी मेयर कपको उपाधि वार्ड नम्बर ८ ले जितेको थियो । गत बर्ष उर्लाबारी नगरपालिका वडा नं. ६ ले बहिस्कार गरेको थियो ।