
उर्लाबारी । मोरङको मिक्लाजुङ–७ स्थित रिलायन्स अंग्रेजी माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि तथा कला उत्सव २०८० हुने भएको छ ।
फागुन १६ गतेदेखि १८ गतेसम्म सो उत्सव सञ्चालन हुने भएको हो । १.० थिम अन्तरगत बृहत विज्ञान, प्रविधि तथा कला उत्सव आयोजना गरिएको विज्ञान शिक्षक विज्ञान लिम्बूले जानकारी दिनुभयो । विद्यार्थीहरुले आफैं उत्पादन गरेका विभिन्न विज्ञान प्रविधि सम्बन्धिका ३४ वटा र हस्तकला तथा विभिन्न कला कौशलका सामाग्रीहरुसहित ९० वटा स्टल रहने उहाँको भनाई छ । फागुन १६ गते पूर्व प्राथमिक तहसम्मको बार्षिक उत्सव, १७ गते विज्ञान प्रदर्शनी र १८ गते रिलायन्स स्टारको विजेता घोषणा कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । ड्रोन, रोबो ड्यास १.०, बेलुन, पपिङ, रोबोट, उद्धार रोबोट, लाइभ आर्टलगायतका विभिन्न कला कौशल उत्सवको आकर्षण रहने छन् । प्रस्तुतिको आधारमा पपुलर च्वाइस् अवार्ड दुई जना विद्यार्थी प्रतियोगीहरुलाई प्रदान गरिने जनाइएको छ ।
२०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा ७ सय ३० जना विद्यार्थीहरु अध्ययरत रहेको विदालयका संस्थापक प्रिन्सिपल सुवास राईले बताउनुभयो । कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालय मिक्लाजुङकै उत्कृष्ट निजी विद्यालयको रुपमा स्थापित भएको छ । विद्यालयले राष्ट्र ब्यापी कार्यक्रममा सहभागी भई उत्कृष्ट बन्दै आएको छ । यो बर्ष नासोले आयोजना गरेको अन्तरिक्ष र उद्यम विषयको वक्तृत्व कलामा प्रश्मा श्रेष्ठ प्रथम र सोही शिर्षकको चित्रकलामा इचिङ लिम्बू दोस्रो हुनुभएको थियो । विद्यालयले विद्यार्थीहरुको अतिरिक्त सिप विकासका लागि विभिन्न क्रियाकलाप, कार्यशाला, अवलोकन भ्रमण तथा खेलकुद गतिबिधि गर्दै आएको छ ।