
उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसको २३ औं क्याम्पस सभा सम्पन्न भएको छ ।
सभाको अवसरमा क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्षहरु, पूर्वउपाध्यक्षहरु र निवर्तमान क्याम्पस प्रमुखलाई सम्मान गरिएको थियो । पूर्व सञ्चालक समितिका अध्यक्षहरु खड्गबहादुर थापा, मुक्तिनाथ न्यौपाने, तेजकुमार रिजाल, योगेन्द्रबहादुर थापा, प्रमोद निरौला, पूर्व उपाध्यक्षहरु ओमबहादुर कार्की, राजेन्द्र पौडेल, कविराज बुढाथोकी, कृष्णबहादुर कार्की, निवर्तमान क्याम्पस प्रमुख वेधराज भट्टराईलाई सम्मान गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष पुष्पलाल ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोशी प्रदेश सांसद उमाकान्त गौतमको प्रमुख आतिथ्यता रहनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष ढकालले अध्यक्षको प्रतिवेदन, क्याम्पस प्रमुख खेमराज कार्कीले शैक्षिक एवम् आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक गजेन्द्र दंगालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्ष २०७९÷०८० मा क्याम्पसको आम्दानी ३ करोड ७९ लाख ७५ हजार ९४२ रुपैयाँ र खर्च ३ करोड ५९ लाख ३९ हजार १७१ रुपैयाँ भई २० लाख ३६ हजार ७ सय ७० रुपैयाँ बचत भएको प्रवितेदनमा उल्लेख छ ।
२०४३ सालमा स्थापना भएको क्याम्पसमा हाल कक्षा ११, १२ तर्फ व्यवस्थापन, शिक्षा र मानविकी, स्नातकतर्फ विए, विएड र विविएस, स्नातकोत्तरतर्फ एमविएस, एमए (ग्रामीण विकास), एमएड (नेपाली, अंग्रेजी, पाठ्यक्रम र जनसंख्या) का शैक्षिक कार्यक्रम सञ्चालित छन् । ३८ जना प्राध्यापक र १३ जना कर्मचारी कार्यरत क्याम्पसमा १८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख कार्कीले बताउनुभयो । २ विगाहा ३ कठ्ठा ८ धुर जग्गामा शैक्षिक भवनहरु, प्रशासनिक भवन, सभाहल, मन्दिर, चमेनागृह, साइकल, मोटरसाइकल पार्किङ, बस पार्किङ, खेलमैदान रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षभित्र क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणित क्याम्पसका रुपमा स्तरोन्नति गर्ने लक्ष्यका साथ क्याम्पस सञ्चालक समिति लागिपरेको अध्यक्ष ढकालले बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद विद्या चाम्लिङ, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्षहरु, नगरमा क्रियाशील राजनीतिक दलका प्रमुखहरु, पूर्व क्याम्पस प्रमुखहरुलगायतले बोल्नुभएको थियो ।