
उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयका दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
उर्लाबारी–६ का शिक्षासेवी दिलिप राईको स्मृतिमा उर्लाबारी परिवार हङकङले स्थापना गरेको अक्षयकोषमार्फत बुधबार छात्रवृत्ति वितरण गरिएको हो । एसईईमा उत्कृष्ट अंक ल्याएर उर्तिण हुनु हुने विद्यार्थी रोशनी महतो र पासाङ तामाङलाई जनही २०÷२० हजारको दरले छात्रवृत्ति वितरण गरिएको छ । शिक्षासेवी राईकी श्रीमति सुस्मिता राई र उर्लाबारी परिवार हङकङका संस्थापक अध्यक्ष पूर्ण वाइबाले छात्रवृत्तिको रकम हस्तान्तरण गर्दै उच्च शिक्षाको सफलताको कामना गर्नुभएको छ ।
वाइबाले आर्थिक अभावका कारण जेहेन्दार विद्यार्थी पढाईबाट बञ्चित हुनु नपरोस् भन्ने हेतुले बर्षेनी छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । विद्यालयकी प्रधानाध्यापक शारदा पाण्डेले छात्रवृत्ति प्रदान गर्ने उर्लाबारी परिवार हङकङलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।