उर्लाबारी १ झारसाँदीस्थित शारदा माध्यमिक विद्यालयमा आइसीटी ल्याब हस्तान्तरण एवम् उद्घाटन गरिएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले कम्प्युटर प्रयोगशालाको शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
उर्लाबारी नगरपालिका र एसोशिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका ९आन्मा०को सहयोग साझेदारीमा कम्प्युटर प्रयोगशाला स्थापना गरिएको हो । ल्याबमा २० वटा कम्प्युटरसहित प्रोजेक्टर, पर्दा, प्रिन्टर्स तथा टेबल र मेच रहेका छन् । प्रमुख अतिथि नगर प्रमुख खरेलले कार्यक्रममा मन्तव्य राख्दै सबै मिलेर सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नु पर्ने बताउनुभयो । उर्लाबारी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर अघि बढेको बताउँदै उहाँले विद्यालयहरु प्रविधिसँग अपडेट हुँदै जानुपर्ने धारणा राख्नुभयो । विद्यार्थीको बहुमुखी प्रतिभाको विकासमा कम्प्युटर शिक्षाको ठुलो मह्त्व रहेको भन्दै यो अवसरलाई अधिकतम प्रयोग गर्न विद्यालय प्रशासनलाई नगर प्रमुख खरेलले सुझाव दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेले कम्प्युटरको अधिकतम प्रयोग गरी विद्यार्थीमा पुरापुरा ज्ञान भर्न आवश्यक रहेको बताउनुभयो । पहिले कम्प्युटर संख्या कम हुँदा प्रयोगात्मक कक्षा लिन समस्या हुने गरेको भन्दै अब त्यो समस्या समधान भएको शारदा माविका प्रधानाध्यापक सुर्य दाहालले बताउनुभयो ।
कम्प्युटर चलाउन पालो कुुर्नु परेको स्मरण गर्दै उहाँले अब भने विद्यार्थीलाई सहज हुने गरी कम्प्युटरको व्यवस्था भएको बताउनुभयो । डिजिटल साक्षरता र प्राविधिक विकासमा टेवा पुर्‍याउने गरी कम्प्युटर ल्याब स्थापनार्थ शैक्षिक क्षेत्र विकासमा सहयोगी भूमिका खेलेकोमा नगरपालिका र आन्मा संस्थालाई प्रअ दाहालले धन्यवाद व्यक्त गर्नुभयो ।
यसअघि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा १५ वटा कम्प्युटर संचालनमा थिए । कम्प्युटर ल्याब स्थापनार्थ खटिएका आन्मा प्रतिनिधि कुन्दन शर्मा मिश्रलगायत टिमलाई कार्यक्रममा सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवकुमार पाण्डेको सभापतित्व रहेको कार्यक्रममा उर्लाबारी १ का वडाध्यक्ष तिलक पाण्डे, वडा सदस्य गौरीशंकर दाहाल, नगर शिक्षा समितिका सदस्य पुर्णप्रसाद घिमिरे, समाजसेवी पदमबहादुर गौतमलगायतको आतिथ्यता रहेको थियो । शिक्षक त्रैलोक्य ढकालले कार्यक्रम संचालन गर्नुभएको उद्घाटन समारोहमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय