उर्लाबारी । मोरङको उर्लाबारी–८ मा अन्तर विद्यालय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार उर्लाबारी–८ को न्यू भिजन एकाडेमीमा मन कराँते सेन्टर उर्लाबारीको आयोजनामा भएको उक्त प्रतियोगितामा उर्लाबारी र पथरीशनिश्चरेका निजी तथा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो । उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा ४० भन्दा बढी खेलाडीहरुले काता र कुमुतेमा सहभागिता जनाएको कराँते प्रमुख प्रशिक्षक मानबहादुर थोप्रा लिम्बूले जानकारी दिनुभयो । काता र कुमुते प्रतियोगितामा पथरीस्थित एभरेष्ट बार्डिङ स्कुल प्रथम, उर्लाबारी–७ को बेथेल एकाडेमी दोस्रो र उर्लाबारी–८ को न्यू भिजन एकाडेमी तेस्रो भएको छ । सनसाइन अंग्रेजी बोर्डिङ स्कुल, बेथेल एकाडेमी, एभरेष्ट बार्डिङ स्कुल र न्यू भिजन एकाडेमीका विद्यार्थीहरुले काता र कुमुते प्रतियोगितामा सहभागिता जनाएका थिए । २० देखि ४० केजी समूहमा कुमुतेतर्फ प्रतिष्पर्धा गरिएको थियो भने कातातर्फ जुनियर र सिनियर समूहबीच प्रतिष्पर्धा गराइएको प्रशिक्षक थोप्राको भनाई छ । काता र कुमुते दुबैतर्फका प्रथम, दोस्रो र तेस्रोलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दुर्गाराज निरौलाले खेलकुदको माध्यमबाट देशलाई विश्वसामु चिनाउन सकिने बताउनुभयो । उहाँले खेलाडीहरुले अनुशासनलाई पालन गरेर खेल कौशलता निखार्न आवश्यक रहेको औलाउनुभयो । कार्यक्रममा सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष जगन्नाथ भट्टराई, सरोज बस्नेत, उर्लाबारी नगरपालिकाका प्रेस संयोजक मिलनकुमार राउत, न्यू भिजन एकाडेमीका प्रिन्सिपल अजितकुमार भट्टराई, शिक्षक कमलराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय