रोटर्याक्ट क्लब अफ उर्लाबारीले लैंगिक हिंसाविरुद्ध वृहत जनचेतनामुलक र्‍याली आयोजना गरेको छ ।

नेपाल सरकारको १६ दिने लैंगिक हिंसाविरुद्ध अभियान कार्यक्रममा ऐक्यबद्धता जनाउदै क्लबले शुक्रबार विहान उर्लाबारीमा भव्य र्‍यालीसहित कोण सभा गरेको हो । उर्लाबारी चौकबाट सुरु भएको प्रभातफेरि बरगाछी, बाघखोर, स्कुलडाँडा, जिमी टोल, हाटखोला हुँदै उर्लाबारी चौकमा पुगी कोणसभामा परिणत भएको थियो । लैंगिक हिंसाविरुद्ध जनचेतनामुलक प्लेकार्ड र माइकिङसहित र्‍यालीमा क्लबका पदाधिकारी विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, उद्योगी व्यवसायी, समाजसेवी तथा स्थानीयबासीले उल्लेख्य सहभागिता जनाएको क्लबका अध्यक्ष सुनिल सुवेदीले जानकारी दिए । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालिकामा लगानीको ऐक्यवद्धता’ नारासहित आयोजित कोणसभामा उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलले सबै खाले हिंसा अन्त्यका लागि सरकार मात्र हैन, स्वयं व्यक्ति सचेत र जागृत हुन जरुरी रहेको बताइन् । हिंसाबाट मुक्ति पाउन शिक्षा आर्जन अनीवार्य भएको भन्दै छोरा छोराबीचको विभेद अन्त्यमा उनले जोड दिइन् । कार्यक्रममा सामाजिक अभियान्ता रुद्रबहादुर तामाङले बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार भनेको के हो ? राम्रो छुवाई र नराम्रो छुवाइ भनेको के हो ? हिंसा तथा दुर्व्यवहार कहाँकहाँ, को बाट र कसरी हुन्छ ?, हिंसा तथा दुर्व्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ ? हिंसा र दुर्व्यवहारबाट कसरी सुरक्षित हुने र उपाय केके हुन सक्छन् ? भन्ने विषयमा विद्यालय स्तरबाट नै सिकाइ हुनुपर्ने भन्दै शीलशीलाबद्ध धारणा राख्नुभएको थियो ।
१६ दिने लैंगिक हिंसाविरुद्ध अभियान आयोजना गरेर समाज रुपान्तरणका सवालमा सकारात्मक सन्देश प्रवाह गरेको रोटर्याक्ट क्लब अफ उर्लाबारीले यसअघि विद्यार्थीलाई न्यानो कपडा वितरण, वृक्षरोपण, शेयर कारोबारसम्बन्धि प्रशीक्षण लगायत रचनात्मक कार्य गरिसकेको क्लबका संस्थापक अध्यक्ष संजय बाहेतीले बताए । कार्यक्रम क्लबका सचिव समीर गहतराजले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय