
-तेजन खड्का
मोरङको उर्लाबारीमा लिम्बू समुदायको मुख्य पर्ब चासोक तङ्नामको तयारी सुरु गरिएको छ । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन । यस पटक पुस १० गते चासोक पर्ब परेको छ। चासोक पर्बको अबसरमा उर्लाबारीस्थित आम्बारीमा ५ दिने सास्कृतिक कार्यक्रम सहित महोत्सव को आयोजना गरिने किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताउनुभयो ।
खेती प्रणालीको विकासदेखि लिम्बु समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका छन । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ।
चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ। सारमा, बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि सूर्य लाई विशेषले पुजिन्छ। चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो।
लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् (देवता)नै मान्दै आएका छन । चासोक तङ्नाम पैँयु फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम दक्षिणायण को न्वागी पर्व चासोक तङ्नाम पर्वका रुपमा मानउने गर्दछन्। लिम्बू भाषामा ‘चासोक’को अर्थ नया पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ। तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ। ‘तङ्नाम’ले पर्व चार्ड अर्थात् उत्सव जनाउँछ।
लिम्बू मुन्धुम शास्त्र अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथ्यो। यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गर्नुभयो। यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको छ। प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गरिन्।
आँगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए। यसपछि मानिसले स्वास्थ्यवद्र्धक खाद्यान्न पाउन थाले। यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो। यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको लिम्बू समुदायमा रहिआएको छ।
धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ। चासोक पूजा आआफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गर्ने गरिन्छ। फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन्। खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ। फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ।
चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ। यसलाई घरको पनि शोभा बढ्नेगरी ढोका छेउमा झुन्ड्याइन्छ। यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्दछ। ‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिकस्थलमा आयोजना गरिन्छ।
प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो– चासोक तङ्नाम। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्। धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ।
मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ। यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ। विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसीर पूर्णिमाका दिनमा नया अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ।