
३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा उर्लाबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई फाइबरको सिरक वितरण गरेको छ ।
आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगरका १८ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई फाइबरको सिरक र नगरपालिका आउँदा जाँदाको यातायात खर्च प्रदान गरेको छ । प्रत्येक वडाका मिलिजुली समितिबाट सिफारिस भएर आएका दुई दुई जना अपाङ्गता भएका व्यक्तिलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेलले सिरक वितरण गर्नुभयो । उपप्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले अपाङ्गता भएका व्यक्तिहरुको हितमा नगरपालिकाले कार्य गर्दै आएको बताउनुभयो । अपाङ्गताहरुको स्वास्थ्य विमादेखि लिएर अपाङ्गता भवन निर्माण गर्ने विषयमा नगरले चासोका साथ कार्य गरिरहेको उहाँले बताउनुभयो । उर्लाबारी–३ मा अपाङ्गतामैत्री भवन निर्माणका लागि ठेक्का लागिसकेको बताउनुभयो । उपप्रमुख मीना खतिवडा पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई हेला वा गाली, बेइज्जत होइन, अवसर दिन जरुरी रहेको बताउनुभयो । अपाङ्गता भएकाले गर्न सक्ने गरी उनीहरुको क्षमता र सीप अनुसारको कामको व्यवस्था गरेमा अरु सरह आत्मनिर्भर हुन सक्ने धेरै उदाहरण भएको उहाँले बताउनुभयो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्नुभएको थियो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी विष्णुमाया रम्तेलले उर्लाबारीमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको समूह उर्लाबारीका अध्यक्ष व्यासकुमार लिम्बूले अपाङ्गताको क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिएको बताउँदै धन्यवाद प्रकट गर्नुभयो ।