उर्लाबारी नगरपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको सोमबार समुद्घाटन गरिएको छ । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल र उप–प्रमुख मीना खतिवडा पौडेलले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभयो । स्थानीय १८ जना दाताले १० कट्ठा जग्गा उपलब्ध गराएपछि ८ नम्बर वडाको जरुवापानीमा भवन निर्माण भएको हो । यसअघिको दुर्गापुरीस्थित साविकको वडा कार्यालयबाट पञ्चेबाजा झाँकी अघि लगाएर ८ नम्बर वडाका जनप्रतिनिधिहरु नयाँ कार्यालय भवनमा सरेका हुन् । पूजा अर्चनासहित शुभसाइत गरी वडाध्यक्ष कुलबहादुर कार्कीले सोमबार नै नवनिर्मित भवनमा पदभार ग्रहण गर्नुभयो ।
कार्यक्रममा भवन निर्माणका लागि १० कठ्ठा जग्गा नि:शुल्क प्रदान गर्ने स्थानीय १८ जना दातालाई सम्मान समेत गरियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले उर्लाबारीको समग्र विकासमा आफूहरुको ध्यान केन्द्रीत रहेको बताउनुभयो । विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास अघि बढेको उहाँको भनाई थियो । उहाँले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, नगर उपप्रमुख मीना खतिवडा पौडेलले वडा कार्यालय भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता हुने बताउनुभयो । उहाँले नवनिर्मित वडा कार्यालय भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी पूर्व उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, वडा नम्बर ६, ७ र ९ का वडाध्यक्षहरु क्रमश: चिन्तामणि पौडेल, उर्मिला थापा र नरबहादुर मोक्तान, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । उपस्थित सहभागीहरुलाई वडा सदस्य रुद्रप्रसाद लामिछानेले स्वागत गरेका थिए । वडाध्यक्ष कुलबहादुर कार्कीको कार्यक्रममा सभापतित्वमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय