
उर्लाबारी । मोरङ मिक्लाजुङ–२ मा प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
विजयादशमी तथा शुभ दिपावलीको अवसर पारेर सो प्रतियोगिताको आयोजना गरिएको हो । तिल्केनी युथ क्लबको आयोजना र मिक्लाजुङ गाउँपालिका वडा नं. २ को कार्यालयको सहयोगमा शनिबार भएको उद्घाटन खेलमा मिक्लाजुङ वडा नं. ६ लाई ५–० को अन्तरले पराजित गर्दै वडा नं. १ बिजयी भएको छ ।
खेल सुरु भएको पहिलो मिनेट मै वडा नं. १ का लागि जर्सी नं. ४ की सपना राईले गोल गर्दै खेललाई १–० अग्रता दिलाइन् । सपनाले थप एक गोल गरिन् भने जर्सी नं. ८ की माया राईले २ गोल र जर्सी नं. १ की प्रीयंका राई १ गोल गर्दै ५–० को गोल अन्तरले वडा नं. १ विजयी बन्यो । खेलमा म्यान अफ द म्याच वडा नं. ६ की जर्सी नं. १० की नेहा श्रेष्ठ घोषित भइन् । खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राई रहनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा नै पहिलो पटक महिला वडा स्तरिय फुटबल प्रतियोगिता सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताहरुलाई वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उद्घाटन कार्यक्रममा मिक्लाजुङ वडा नं. १ का पर्वत राई, वडा नं. ४ का वडाध्यक्ष खडीबहादुर मगरले बोल्नुभएको थियो । आइतबारको खेल मिक्लाजुङ गाउँपलिका वडा नं. ३ र वडा नं. ८ बीच तिल्केनी खेल मैदानमा हुने आयोजक समितिका अध्यक्ष सरोज राईले बताउनुभयो । प्रतियोगितामा प्रथम र दोस्रो हुनेलाई क्रमशः नगद ३० हजार, १५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।