उर्लाबारी । मोरङकै अग्रणी सहकारी संस्था हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारी–५ मा शेयर सदस्यको संख्या ७ हजार बढी पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा शेयर सदस्य ६ हजार ८ सय९२ रहेकोमा गत आर्थिक वर्ष२०७९ ।८० मा ३ सय ६८ जना थप भई ७२६० पुगेका छन् । चालु आर्थिक वर्षमा थप ३०० शेयर सदस्य थप गरी ७ हजार ५ सय बढी पु¥याउने संस्थाको लक्ष्य रहेको छ । सहकारीका नीति, योजना र कार्यक्रमसहित सदस्यहरुको हितमा संस्थाले पु¥याउँदै आएको सेवाका कारण हाम्रो सोकासमा आकर्षण बढ्दै गएको हो । सो संस्थामा उर्लाबारी नगरपालिकासहित पथरीशनिश्चरे, रतुवामाई, लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका शेयर सदस्यहरु आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुको हितलाई ध्यान दिँदै साँझ ७ बजेसम्म नै कार्यालय खुल्ला राख्नुका साथै बचत संकलनका लागि साँझ ६ बजेसम्म व्यवस्थापन गर्दै आएको छ । संस्थाले महिला शेयर सदस्यहरु प्रसूति भएमा शिशुको नाममा निशुल्क खाता खोलेर २ हजार रुपैयाँ बचत समेत गर्दै आएको छ । गत आर्थिक वर्षमा यो कार्यक्रमबाट ४५ जना महिला शेयर सदस्य लाभान्वित भएका थिए । संस्थाले आफ्ना शेयर सदस्यहरुको निधन भएमा सदस्य बनेको वर्ष गणना गरेर २० हजारसम्म राहत समेत प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा १५ जना शेयर सदस्यका परिवारलाई राहत रकम प्रदान गरिएको संस्थाका अध्यक्ष डिवी थापाले जानकारी दिएका छन् । संस्थाको साधारण सभाको निर्णय अनुसार सदस्यहरुको परिवारका सदस्यको निधन हुँदा राहत बापतप्रति सदस्यलाई ५ हजार रकम समेत सहयोग गर्दै आएका छ । २०७२ असोज ११ गतेदेखि २०८० असार मसान्त सम्ममा २२५ जना सदस्यहरुले सदस्य राहत वापतको रकम प्राप्त गरेको कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले जानकारी दिएका छन् । संस्थाले क्यान्सर, मुटु र मृगौला रोगका कारण उपचाररत शेयर सदस्यलाई प्रमाणका आधारमा एक पटक प्राप्त गर्ने गरी उपचार खर्च १० हजार र सर्पको डसाईबाट उपचार गरेका सदस्यहरुलाई ४ हजार उपचार खर्च प्रदान गर्दै आएको सचिव मनोरथ भण्डारीले जानकारी दिएका छन् । संस्थाले अपांगता सहयोग, जेष्ठ नागरिक सम्मान खर्च, जेष्ठ सदस्य भ्रमण लगायत पनि गर्दै आएको छ । संस्थाले धितो जग्गा नहुने र व्यवसाय संचालन गर्ने तथा गरिरहेका संस्थाका सदस्यहरुको हितका लागि लघुवित्त कार्यक्रम समेत संचालन गर्दै आएको छ । लघुवित्त समुहको सदस्य वनाई समुह जमानीमा प्रति सदस्य ७५ हजारसम्म लघुकर्जा शिर्षक अन्तगत ऋण प्रवाह गर्दै आएको संस्थाका संचालक समिति सदस्य रुपचन्द्र दाहालले जानकारी दिएका छन् । उक्त कार्यक्रम अन्र्तगत हाल जम्मा ६४ वटा समुहहरु क्रियाशिल छन् भने यी समुहमा ५५० जना सदस्यहरु आवद्ध रहेका छन् । संस्थाले आगामी मंसिर १० गते स्थापना दिवसको अवसरमा ६० वर्ष माथिका ५१ जना जेष्ठ शेयर सदस्यलाई सम्मान गर्ने योजना बनाएको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाका शेयर पुँजी ३ करोड ४८ लाख ३७ हजार १ सय रहेकोमा गत आर्थिक वर्षमा ३ करोड ७८ लाख ६० हजार ७ सय पुगेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको बचत निक्षेप ३३ करोड ४७ लाख ५४ हजार ३७७ रहेकोमा गत आर्थिक वर्षमा ३४ करोड ६३ लाख १३ हजार ३२ रुपैयाँ पुगेको संस्थाको संस्थाका व्यवस्थापक चक्रबहादुर खड्काले जानकारी दिएका छन् । संस्थाले आफ्नो २७ औं साधारणसभा असोज २८ गते घटस्थापनाका दिन गर्ने जनाएको छ । असोज २६ गतेदेखि २८ गतेसम्म निरन्तर साधारणसभा चल्नेछ ।
ADVERTISEMENT