दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारी–८ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा युवा प्रतिभा प्रष्फुटन प्रोत्साहन अक्षयकोष स्थापना गरिएको छ ।
युवा प्रतिभा प्रष्फुटन प्रोत्साहन अक्षयकोष समितिले ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो । देशविदेशमा रहनु भएका मनकारी सहयोगीहरुले स्थापना गरेको उक्त कोषको ब्याजबाट प्रत्येक बर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने कोषका संयोजक रुद्रबहादुर तामाङले जानकारी दिनुभयो । कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरी प्रोत्साहन गरिने उहाँको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक अखिलेश साहले विद्यार्थीहरुलाई छात्रबृत्ति कोष स्थापना भएपछि उत्साह थप्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न लागि परेको बताउनुभएको छ ।
त्यस्तै, विद्यालय ब्यवस्थापन समितिका सदस्य अमर सेलिङले सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न आवश्यक रहेको औलाउनुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको गुणस्तर राम्रो हुनु पर्ने उहाँको भनाई छ । सोही अवसरमा संघीय सरकारले प्रदान गर्ने कक्षा १ देखि ८ सम्मका छात्रा र दलित समूदायका विद्यार्थीहरुलाई रकमसमेत प्रदान गरिएको छ । यसअघि युवा प्रतिभा प्रष्फुटन प्रोत्साहन अक्षयकोष समितिले उर्लाबारी–२ को सुनझाडो माबिमा ५ लाखको कोष स्थापना गरेको थियो । थप अन्य माध्यमिक विद्यालयहरुमा समेत कोष स्थापना गर्ने लक्ष्य रहेको सह–संयोजक बानु सुब्बाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय