
उर्लाबारी, नेपाल स्काउट नगर तदर्थ समिति उर्लाबारीद्वारा आयोजित ‘अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, दुई दिन एक रातको फेलोशिप क्याम्प तथा दीक्षान्त समारोह’को एक कार्यक्रमका बीच उर्लाबारीका नगर प्रमुख र उपप्रमुखले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । सुनपकुवा मावि उर्लाबारी २ परिसरमा शुक्रबार आयोजित समारोहको नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले राष्ट्रिय झण्डा झण्डोत्तलन गरी शुभारम्भ गर्नुभयो । नगर स्काउटको संरक्षक मेयर तथा उपमेयर प्रमुख हुने व्यवस्था छ ।
उर्लाबारी नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा संचालित दुई दिन एक रातको फेलोशिप क्याम्प भने शुक्रबारबाटै राधिका मावि उर्लाबारी ६ मा शुरु गरिएको सो विद्यालयका स्काउट प्रशिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको औचित्यबारे स्काउट उर्लाबारीकी संयोजक कविता खनालले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै उपमेयर मीना खतिवडा पौडेलले नेपाल स्काउटमा पछिल्लो नेतृत्व पाएपछि सुगम र शहरकेन्द्रित गतिविधि गाउँसम्म पुग्न थालेको बताउनुभयो । स्काउटले अनुशासित र स्वावलम्बी नागरिक बनाउन दीर्घकालिन महत्व राख्ने उहाँको भनाइ थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाकुमारी भट्टराई ‘शीला’, प्रधानाध्यापक भुमिराज प्याकुरेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उर्लाबारी ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीको पनि आतिथ्यता रहेको थियो । यसैबीच कार्यक्रमको पहिलो चरणमा भएको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पशुपति बोर्डिङ स्कुलले प्रथम स्थान हात पारेको छ । हिमचुली बोर्डिङ स्कुल दोस्रो र सप्तकोशी बोर्डिङ स्कुल तेस्रो भए । प्रतियोगितामा उर्लाबारीका सामुदायिक र संस्थागत गरी १४ विद्यालयको सहभागिता रहेको थियो ।