
उर्लाबारी । सीआर सेभेन होरा परिवारले मोरङको उर्लाबारी–६ की नसा रोगबाट पीडित तीन महिनाकी एन्जल दर्जीको उपचारका लागि ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
पब्जी गेम च्यारिटीबाट ५ घण्टाको अन्तरालमा सो रकम संकलन गरी हस्तान्तरण गरेको सीआर सेभेन होरा परिवारका सन्जन गौतमले जानकारी दिए । उर्लाबारी–६ निवासी गौतमसहितको ग्रुपले सीआर सेभेन होरा यूट्यूव च्यानलमार्फत पब्जी गेम खेल्ने गरेका छन् । सो क्रममा पब्जी गेम च्यारिटीबाट सो रकम संकलन गरी एन्जल बचाउने अभियानका संयोजक राजु लामालाई हस्तान्तरण गरिएको छ ।
उर्लाबारी—५ निवासी गणेश दर्जीकी छोरी एन्जलको टाउकोमा नसा सम्बन्धि गम्भीर रोग लागेको छ । दैनिक मजदुरी गर्ने दर्जीको परिवार छोरीको उपचार गर्न नसक्ने अवस्थामा पुगेपछि स्थानीय युवाहरु एन्जल बचाउन सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् । युवाहरुले उर्लाबारी चोकमा टेण्ट टाँगेर वाटर क्याम्पमार्फत पानी बेचेर रकम संकलन भइरहेको अभियानका सदस्य मनोज तामाङले बताउनुभयो । अभियान्ता टीका सिम्खडाका अनुसार उक्त स्टल एक सातासम्म रहनेछ । यस्तै उनले आगामी वैशाख ३० गते उर्लाबारी स्थित होटल ग्राण्डमा स्थानिय सांगितिक समुह र काठमाडौका केहि चर्चित ब्याण्ड सहभागी गराई केहि रकम संकलन गर्ने हेतुले सांगितिक कार्यक्रम आयोजना गरिएको बताएका छन् ।