उर्लाबारी । साथीलाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा पक्राउ परेका १३ जना बालिका छुटेका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका– ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट गरी भिडिओ समेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको थियो । घटना हेर्दा १४ वर्षीया बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको पाइएको भन्दै पीडित परिवारले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेका थिए । बैशाख १७ गते ७ जनालाई जिल्ला अदालत मोरङको आदेशमा प्रहरीले छोडेको थियो भने बैशाख २० गते उच्च अदालतको आदेशमा ६ जनालाई जिम्मा जमानीमा छुटेको प्रहरीले जनाएको छ ।
के थियो घटना
कालिका माबि कक्षा ८ मा अध्ययनरत १४ बर्षीया किशोरीलाई गत बैशाख ६ गते बुधबार १३ जनाको समूहमा रहेका विद्यार्थीहरुले निर्घात कुटपिट गरी खुट्टा ढोग्न लगाएको बैशाख ९ गते शनिबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो । प्रेमीसँग बोलेको निहुँमा सामुहिक कुटपिट भएको बताइएको छ ।
सो घटनाको बारेमा कसैलाई सुनाए ज्यान लिने समेतको धम्की दिएकाले आफुले घटनाकोे बारेमा डराएर कसैलाई नसुनाएको पीडित किशोरीले जानकारी दिएकी थिइन् । ती किशोरी घरमा एक्लै बस्दै आएकी थिइन् । बैशाख ११ गते आइतबार विद्यालयमै छलफल गरेर समस्या समाधान गर्ने पहल भएपनि बिथोलिएको थियो । त्यसपछि पीडित परिवारले १३ जना विरुद्ध जाहेरी दिएपछि बैशाख ११ गते एक जना र बैशाख १२ गते १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विद्यालयमा छलफलको क्रममा पीडित परिवारले आक्रोशित भएपछि सो दिनभर कालिका माध्यमिक विद्यालय परिसर तनाबग्रस्त बनेको थियो । पीडितका आफन्तसहित विद्यालयमा विद्यालय प्रशासन, राजनीतिक दलका प्रतिनिधि, संघ संस्था प्रतिनिधिहरु बीच छलफल भएको थियो । छलफलकै क्रममा तनाब सिर्जना भएपछि प्रहरीको सहयोगमा पीडक एक किशोरीलाई नियन्त्रणमा लिएको थियो भने अन्य १२ जनालाई पनि पक्राउ गरेको थियो । पीडित पक्षले विद्यालयका डेक्स बेन्च तोडफोड गर्नुको साथै विद्यालयको गेटमा तालाबन्दी गरेका थिए । त्यसपछि भएको छलफलको क्रममा पीडित परिवार, सर्वदलीय राजनीति दलका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी, विद्यालय प्रशासनलगायतको उपस्थितिमा विद्यालयमा लगाइएको तालाबन्दी खोल्ने सहमति भएको थियो । सहमति अनुसार पीडित किशोरीको उपचार पीडक पक्षका अभिभावकहरुले व्यहोर्ने र त्यसका लागि आवश्यक समन्वय विद्यालय प्रशासनले भनिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय