
उर्लाबारी, मोरङको उर्लाबारीमा लामखुट्टेको प्रकोप बढेपछि नगरपालिकाले लामखुट्टे मार्ने ओैषधी स्प्रे छर्ने कार्य सुरु गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले उर्लाबारीका सबै वडामा औषधी छर्ने जनशक्ति पठाएर लामखुट्टे मार्ने औषधी छर्ने काम शुरु गरेको स्वास्थ्य शाखा अधिकृत रेनुकाप्रसाद काफ्लेले जानकारी दिए। विषादीयुक्त मालाथिनको धुवाँ (फगिङ) छर्किन थालेपछि लामखुट्टे नियन्त्रणमा आउने बताइएको छ ।
यसले उडिरहेको लामखुट्टे नष्ट गर्न नसकेपनि जमेको पानी र हरियो घासहरु जहाँ लामखुट्टेले लार्भा जन्माउछ त्यस्ता ठाउमा छर्ने कार्य भएकोले लार्भा नष्ट गर्न सहयोग पुग्ने काफ्लेले बताए ।
जनस्वास्थ्यमा असर नपर्ने गरी औषधी छनौट गरेको उनले बताए । अहिले लामखुट्टेको प्रकोप बढदै सार्वजनिक खुल्ला ठाउमा बस्नै अफठेरो भएको छ । यसले लामखुट्टेको उत्पादन रोकी कमि आउने उनको भनाइ छ । लामखुट्टेले मान्छे तथा पशुहरूको शरीरको रगत चुसेर एक प्राणीबाट अर्को प्राणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका र विषालु हुने भएपछि विभिन्न रोगको प्रकोप ल्याउने गरेको छ ।
गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग औलो, मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनिया, हात्तीपाइले रोग लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । उर्लाबारी नगरपालिकाले धेरै किसिमका रोगको जड लामखुट्टे नै मारेर सखाप पार्ने उद्देश्यले फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । धुवाँ फैलेपछि लामखुट्टे मर्छन् । ‘नगरपालिकाले बिषादी छर्कनुअघि स्थानबारे माइकिङ गरी अग्रिम जानकारी गराउनेछ’ नगरपालिकाका प्रेस संयोजक मिलनकुमार राउतले भने – धुँवाको हानिबाट जोगिन अग्रिम सु्चना दिइ सतर्क गराइनेछ ।’