
पथरी । मोरङको पथरी–१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयद्वारा सञ्चालित सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जनालाई सम्मान गरिने भएको छ ।
आज पत्रकार सम्मेलन गरी कोषका उपाध्यक्ष तथा विद्यालयका निर्देशक रविन कन्दङ्वाले सो कुरा पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको हो । विद्यालयका संस्थापक सि.एम्. कन्दङ्वाको जन्मउत्सवको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्मान गरिने निर्देशक कन्दङ्वाले बताउनुभयो । कोषले सि.एम्. कन्दङ्वाको व्यक्तित्व र कुक्तित्वलाई जीवन्त राख्ने, नयाँ पुस्ता प्रेरणा र सिर्जनशील उर्जा दिने, भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, पत्रकारिता र समाजसेवाका क्षेत्रमा लाग्ने व्यक्ति, व्यक्तित्वको कदर, प्रोत्साहन र सम्मान हरेक वर्ष गर्दै आइरहेको छ ।
यही चैत २९ गते सि.एम्. कन्दङ्वा स्मृति कोषले प्रा.डा. गोविन्दराज भट्टराईलाई सि.एम्. कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान २०७९, गायक तथा संगीतकार अनिल फागोलाई सि.एम्. कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान २०७९ र पत्रकार अर्जुन जम्नेली राईलाई सुशिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान २०७९ प्रदान गर्ने भएको उहाँले जानकारी दिनुभयो । सम्मानका राशीहरु क्रमशः १ लाख १ हजार रुपैयाँ, ५१ हजार र ११ हजार रुपैयाँ रहने आयोजकले जनाएको छ ।