
उर्लाबारी । उर्लाबारी जेसीजको अध्यक्ष सिताराम ओझा बनेसँगै सक्रियता बढेको छ । उर्लाबारी जेसीजले ब्यक्तित्व विकास र नेतृत्व विकास सम्बन्धि प्रशिक्षक, अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु बढाएको हो । शुक्रबार उर्लाबारी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुलाई लक्ष्य निर्धारण सम्बन्धि तालिम तथा छलफल कार्यक्रम गरियो ।
उर्लाबारी जेसीज अध्यक्ष ओझा, महासचिब नविन श्रेष्ठ, तालिम निर्देशक टिकाप्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो । उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उल्लेखिय सहभागितामा भएको उक्त कार्यक्रम उपलब्धीमूलक बनेको सहभागी विद्यार्थी दिपेन बराईलीले बताउनुभयो । विद्यार्थीहरुले सही मार्ग निर्देशन नपाउँदा अल्मिलरहेको अवस्था रहेको बताउँदै तालिम, अन्तरक्रिया तथा छलफलबाट सकारात्मक प्रभाव पर्ने उहाँको भनाई छ ।
उर्लाबारी जेसीजका अध्यक्ष ओझाले विद्यार्थीहरुले लक्ष्य निर्धारण गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । सहभागीहरुलाई अध्यक्ष ओझा, महासचिब श्रेष्ठ, सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष सरोज बस्नेत, विद्यार्थी नेता थानेश्वर अधिकारी, साजन कुँवर, उर्लाबारी जेसीजका उपाध्यक्ष पोषण आचार्य, फुर्वा तामाङलगायतले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।