
उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सामुदायिक वन प्रदेश महासंघका सचिव अग्नि पौडेल, सव डिभिजन वन कार्यालय मंगलबारेका रेञ्जर अमृत चेम्जोङलगायतले बोल्नुभयो ।
समूहका अध्यक्ष भीमबहादुर राईको सभापतित्वमा भएको साधारणसभामा अध्यक्ष राईले वार्षिक कार्ययोजना, सचिव अरुणा थापाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अर्जुन बाँस्तोलाले वार्षिक आर्थिक प्रतिवेदन र लेखा तथा अनुगमन समितिका संयोजक देवमणि न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा वन क्षेत्रको संरक्षण तथा प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै पत्रकार, कर्मचारी, टोली नेता, ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । साधारणसभाको अवसरमा पत्रकार सरोज बस्नेतलाई १० हजार नगदसहित सम्मान गरिएको छ । उर्लाबारीमा डेढ दशकदेखि पत्रकारितामा सक्रिय बस्नेतले पत्रकारिताको माध्यमबाट वेतिनी वन र वेतिनी सिमसारको प्रचारप्रसारमा उल्लेख्य योगदान पु¥याएको भन्दै समूहले सम्मान गरेको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिक रणबहादुर लिम्बू, वन समूहका कर्मचारी तिलकबहादुर खड्का र मीना राजवंशी, उत्कृष्ट उपभोक्ता टिकाकुमारी राई, टोली नेताहरु देवीप्रसाद अधिकारी, शिव बस्नेत र बलबहादुर धिमाललाई पनि सम्मान गरिएको थियो ।
समूहकी सचिव अरुणा थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता बुढाथोकी डाँगीले स्वागत मन्तव्य राख्नुभएको थियो । २०५९ सालमा स्थापना भएको यो समूहमा हाल उर्लाबारी नगरपालिका वडा नं. २, ३, ४ र ७ का १ हजार ३२५ उपभोक्ता घरधुरी आवद्ध रहेको सदस्य कृष्ण तिम्सिनाले जानकारी दिनुभयो । वेतिनी वनमा रहेको वेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै आएको छ । वेतिनी सिमसार घुम्न दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको अर्का सदस्य मिलन दाहालले जानकारी दिनुभयो ।