
उर्लाबारी । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत अनुदान कार्यक्रमबाट सञ्चालित तरकारी खेतीको शुक्रबार अनुगमन तथा निरीक्षण गरिएको छ ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल, कार्यपालिका सदस्य कृष्णमाया कडरिया, कृष्ण बर्देवा, कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेललगायतको अनुगमन टोलीले उर्लाबारी – ८ सुठुनीडाँडास्थित सिर्जनशील आइपीएम कृषक समूहद्वारा संचालित तरकारी बालिको अनुगमन गर्नुभएको हो ।
अनुगमनको क्रममा किसानहरुले उत्पादन गरेको तरकारीमा रोग तथा किराले सताउने गरेको र तरकारीको बजारीकरणमा समस्या रहेको गुनासो गरेका थिए । यस्तै, वास्तविक कृषक र उपभोक्ता शोषित – पीडित हुने अवस्था अन्त्य गर्नुपर्नेमा उपप्रमुख पौडेलले जोड दिनुभयो । ‘नयाँनयाँ प्रविधिको विकाससँगै तरकारी खेतीका लागि उपकरण र औजारहरुको प्रयोग हुन थालेपछि उत्पादन बढाउन सघाउ पुर्याएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय संघ संस्थासँगै स्थानीय तहले तरकारी खेतीमा संलग्नलाई अनुदान लगायतका कार्यक्रममा आवद्ध गराउन थालेपछि तरकारी खेती गर्नेहरुमा उत्साह छाएको छ ।’ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा किसानलाई समेटिएपछि तरकारी खेती गर्नेलाई प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि बोरिङ, बीउ खरिद गर्नका लागि रकमको व्यवस्था गरिदै आएको कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलको भनाई रहेको छ ।