उर्लाबारी । २०७१ सालमा मदनबाबु प्रसाई नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाका सभापति बन्नुभयो । झोले कार्यालयबाट सञ्चालन हुँदै आएको उर्लाबारी रेडक्रसलाई सुविधासम्पन्न भवनसहितको कार्यालयमा परिणत गर्न सभापति प्रसाई सफल बन्नुभएको हो ।
नेपाल रेडक्रस सोसाईटी मोरङको नाममा दर्ता कायम भएको उर्लाबारी–४ मा रहेको ५ कठ्ठा जग्गाको भोगाधिकार उर्लाबारी उपशाखाको नाममा कायम गर्दै संस्थाको भौतिक निर्माण गर्न सभापति प्रसाईको महत्वपूर्ण भूमिका रहेको थियो ।
दुई कार्यकाल उपशाखा सभापति हुनु भएका प्रसाईले २०७५ सालमा आफ्नै जग्गामा भवन निर्माण गरी रक्तसञ्चार सेवा सुरुवात गर्नुभयो । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा ब्लड बैंकको सेवा केन्द्र विस्तार गरी २४ सै घण्टा सेवाको सुरुवात गर्नुभएका सभापति प्रसाईले मिक्लाजुङमा नेपाल रेडक्रस सोसाईटीको उपशाखा स्थापना गरिएको जानकारी दिनुभयो । यस्तै, भुकम्प, बाढी पहिरो, आगलागी पीडितलाई राहत प्रदान गरिएको, सदरमुकाम बाहिर पहिलो पटक नेपाल रेडक्रस सोसाईटी मोरङको जिल्ला अधिवेशन उर्लाबारीमा सम्पन्न गरिएको, रेडक्रस बस्तीका नागरिकको माग अनुसार आइजोन नेट प्रालिसँगको सहकार्यमा फ्रि वाइफाइ जोन स्थापना, उपशाखा भवनको कम्पाउण्ड वाल निर्माणको ७० प्रतिशत कार्य पूरा गरिएको, रेडक्रसकर्मी सदस्यहरुलाई डिजिटल परिचय पत्र वितरणको सुरुवात गरिएको सभापति प्रसाईँले बताउनुभयो । उर्लाबारी रेडक्रसले सर्पदंश उपचार कार्यक्रम सञ्चालनका लागि भवन निर्माण पूरा गरी आवश्यक सामग्री, जनशक्ति तयार गरिसकेको र सञ्चालनको अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । प्रसाईले उर्लाबारी रेडक्रसको विकासमा महत्वपूर्ण योगदान पु¥याएको आजिवन सदस्यहरुले बताउने गरेका छन् । आजिवन सदस्यहरुले फेरि प्रसाईलाई सभापति बन्नु पर्ने बताइरहँदा उहाँले आफु उम्मेद्वार नबन्ने प्रष्ट पार्नुभएको छ । उहाँले अन्य साथीहरुलाई नेतृत्वका लागि अवसर प्रदान गर्न आफुले उम्मेद्वारी नदिने घोषणा गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको नयाँ नेतृत्व चयनका लागि माघ २१ गते निर्वाचन हुने भएको छ । निर्वाचनका लागि माघ २० गते दिउँसो १ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन साँझ ६ः३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र २१ गते बिहान ८ देखि २ बजेसम्म मतदानको समय तोकिएको छ । उर्लाबारी रेडक्रसमा ५५१ जना आजीवन सदस्य रहनु भएको प्रेस सल्लाहकार केदार चौहानले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय