
उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता र उपप्रमुख मीना खतिवडा पौडेलको सभापतित्वमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी छलफल तथा अभिमुखि करण कार्यक्रम भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुन एकीकरण भेला आयोजना गरी नगर स्तरीय रिटर्नी संजाल समेत गठन गरिएको छ । छविलाल दाहालको अध्यक्षतामा रिटर्नी संजाल उर्लाबारी गठन गरिएको हो । संजालमा रेनुका खनाल ढकाल सचिव रहनुभएको छ भने सदस्यहरुमा आतिश श्रेष्ठ, रोहित आचार्य, भरतकुमार मगर, गोपाल भट्टराई, जीवन चिमरिया, प्रकाश दाहाल र विष्णु गिरी रहेका छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, रोजगार संयोजक ताराप्रसाद गुरागाई, रिटर्नी फेडेरेशन प्रतिनिधि विकास बुढाथोकी, तारादेवी पौडेल, सामी परियोजनाका प्रतिनिधि तिलक बर्देवालगायत अतिथि रहनुभएको थियो ।
नगरपालिकाका रोजगार संयोजक ताराप्रसाद गुरागाईका अनुसार रिटर्नी संजालले समाजिकीकरण कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारबाट फर्केकालाई समाजमा अन्तर्घुलन गराउनका लागि पारिवारिक तथा सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयंसेवक परिचालन जस्ता कार्यक्रम सञ्चालन गर्नेछ। वैदेशिक रोजगारबाट सीप, पुँजी लिएर तथा समस्यामा परेर फर्कनेहरूका लागि पुनः एकीकरण कार्यक्रम निकै महत्वपूर्ण भएको उहाँले जानकारी दिनुभयो ।