दमक । आइतवार विहान दमक -६ स्थित नमुना वजारको पसलमा लागेको आगलागी विद्युत सर्ट नभई दुई जना व्यक्तिले लगाएको पाईएको छ । सिसिटीभी फूटेजको सहयोगमा अनुसन्धान गर्दा दुई व्यक्तिले आगजनी गरेको देखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीले आगजनीमा संलग्न एक जनालाई पक्राउ गरिसकेको छ । आगजनीबाट त्यहाँका कपडा, जुत्ताचप्पल पसल तथा ट्रेलरिङ सेन्टर गरी ९ वटा पसल पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । उनका अनुसार आगलागीबाट करिव रु दुई करोड बराबरको धनमाल क्षति हुन पुगेको छ । यद्यपि, क्षतिको विवरण पूर्ण रुपमा संकलन भइसकेको छैन् ।
प्रहरीका अनुसार आगलागीबाट राजु श्रेष्ठ,संगीता श्रेष्ठ,विजय श्रेष्ठ,कृष्ण न्यौपाने र पुनम घिमीरेको पसल पूर्ण रुपमा जलेर नष्ट भएको थियो भने घटनास्थल छेउछाउका चार वटा पसलहरु भत्काउनु परेको थियो ।
प्रनाउ गिरीले सुरुमा विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएपनि सिसिटिभी फुटेज हेर्दा दुईजना व्यक्ति मध्ये एकजनाले पेट्रोल खनाएको र अर्कोले भने लाइटरले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
आगो करिब तीन घण्टापछि झापा, मोरङका सातवटा दमकलले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन् भने फरार अर्काको खोजी भईरहेको उनले बताए । पक्राउ परेकाले घटनामा आफनो संलग्नता स्वीकार गरिसकेको प्रहरीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय