
उर्लाबारी । प्रदेश नं. १ की सांसद शोभा चेम्जोङ पालुङ्वाले हरेक जातिको संस्कृति र धर्म संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
लिम्बू समुदायको महत्वपूर्ण चाड ‘कक्फेवा तङनाम र यले तङ्बे ५०८३’ आज उर्लाबारी–३ मा तेनेवा माङथान समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी उहाँले आफू नेपाली भएकोमा गौरव लागेको बताउँदै अनेकतामा एकता र एकतामा विविधता भएकाले नेपाल साँस्कृतिक रूपले साँच्चै सुन्दर र सम्पन्न रहेको धारणा राख्नुभयो । पारस्परिक सद्भाव, सम्बन्ध र सहिष्णुता नै नेपालीहरुको साझा पहिचान भएको उहाँको भनाई छ । हरेक जातिको संस्कृति र धर्म संरक्षण गर्नु राज्यको दायित्व भएको र नेपालीहरुबीच बन्धुत्व र भाइचाराको सम्बन्ध कायम राख्नु नागरिकहरुको कर्तव्य भएको सांसद चेम्जोङको भनाई थियो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लङकी नगर अध्यक्ष बानु सुब्बाले प्रदेश सभा सदस्य शोभालाई सम्मान समेत गर्नुभयो । सोही कार्यक्रममा चुम्लुङकी केन्द्रीय सदस्य विमला पालुङ्वाले लिम्बू, उर्लाबारी–३ का वडाध्यक्ष भीष्म बुढाथोकी, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष सम्शेर लिम्बू, पूर्व वडाध्यक्ष गञ्जबहादुर कार्की, समाजसेवी पारसमणी कुइकेल, चुम्लुङका प्रदेश सदस्य दिलु लिङदेनलगायतले मन्तव्य राख्नुभयो ।
चुम्लुङकी नगर अध्यक्ष बानु सुब्बाले लिम्बू समुदायको भाषा र संस्कृति रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । तेनेवा माङथान समितिका अध्यक्ष चन्द्र लुम्फुङ्वाको अध्यक्षतामा भएको सो कार्यक्रम हर्सोल्लासपूर्वक सम्पन्न भएको थियो । त्यस अवसरमा लिम्बू समुदायकोे लोकप्रिय धान नाच र च्याब्रुङ नाच नाचेर रमाइलो गरिएको थियो ।