
सन्थाल समुदायको महाव पर्व सोहरायको अवसरमा आज गौरीगञ्ज गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
पालिकामा बसोबास गर्ने जातजातिमध्ये जनसङ्ख्याको आधारमा दोस्रो बढी जनसङ्ख्या रहेको सन्थाल समुदायले मनाउने यस पर्वमा प्रत्येक वर्ष सार्वजनिक बिदा हुँदै आएको छ ।
सन्थाल समुदायले सोहराय छ दिनसम्म पूजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दै मनाउने गर्दछन् । सोहरायको पहिलो दिन आज ‘उम’ भनिन्छ । पहिलो दिन पारम्परिक सांस्कृतिकविधि अनुसार यस समुदायले नुहाइधुवाई गरी घर-आगँन सफा गरेर चोखिने नेपाल आदिवादी सन्थाल उत्थान सङ्घ गौरीगञ्जका अध्यक्ष राईसिंह हेमरमले बताउनुभयो ।
उहाँका अनुसार समुदायका मूल पुजारी जागमनजीले गाउँको बाहरिपट्टि खुला ठाउँमा बनाइएको थानमा ‘गड’पूजा (चालमको मिठो, मेथी, सुपारी, लड्डु र कुखुराको बलि दिएर) विधिपूर्वक गर्ने चलन छ ।
यसरी पूजा गरेको प्रसाद समुदायका सबै भेला भएर ग्रहण गर्ने चलन रहेको छ । जसलाई सन्थाली भाषामा ‘सुडे’ भनिन्छ । यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलिबेटी र पाहुनालाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरुले ल्याएको कोसेली बितेका पूर्वजलाई चढाइन्छ । समुयदायका युवायुवती यस दिन सोहराय नाच प्रस्तुत गर्छन् । सोहराय पर्वको तेस्रो दिनलाई ‘खुन्टोव’ भनिने उहाँले बताउनुभयो ।
सोहरायको चाँैथो दिन गाउँका मुखियासहित समुदायका मानिस समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ । जसलाई ‘जाली’ भनिने सन्थाल बताउँछन् । सोहरायको पाँचाैँ दिनलाई ‘हाकुकाट्कोम’ को रुपमा मनाइन्छ । यस दिन समुदायका मानिसले विशेष गरी गाईगोरुसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्दै पूजापाठ गर्ने चलन रहेको छ । यही दिन स्थानीय खोला तथा पोखरीको माछा, गङ्गटो मारेर ल्याउने र खाने गरिन्छ ।
पर्वको छैटाैँ दिनलाई साकरात भनिन्छ । यस दिन जङ्गलमा गएर सिकार गर्ने चलन छ । यसरी सिकार गरेर ल्याएको मासु सबैले बाँडीचुँडी खाने चलन रहेको अध्यक्ष हेमरमले बताउनुभयो ।
मोरङ, सुनसरी र झापामा बाहुल्य बसोबास रहेको यस समुदायको सबैभन्दा ठूलो यसपर्वमा स्थानीय सरकारसँगै केन्द्रीय सरकारले समेत सार्वजनिक बिदा दिनुपर्ने माग गर्नुभएको छ ।