
उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहमा आश्रित बालबालिकाहरुका लागि वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारीकी ममता राना, सविता धिमाल र झापाका कर्मा पुलामीको संयुक्त आयोजनामा झापाको कन्काई नगरपालिकामा रहेको जामुनखाडी सिमसार क्षेत्रमा वनभोज कार्यक्रम गरिएको हो । बर्षेनी सो समूहको आयोजनामा बाल गृहका बालबालिकाहरुका लागि वनभोज कार्यक्रम हुँदै आएको समन्वयकर्ता सरोज बस्नेतले जानकारी दिनुभयो ।
वनभोज कार्यक्रममा खेलकुद कार्यक्रम पनि गरिएको थियो । हाजिरिजवाफमा रोशन लिम्बू समूह प्रथम र हाडी फुटाउनेमा चाँदनी थापा प्रथम भइन् । खेलकुद कार्यक्रमको सामाजिक अभियान्ता रुद्रबहादुर तामाङ र संचारकर्मी रुपेन्द्र शेर्माले समन्वय गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागो, बाल गृहकी अध्यक्ष मिना बराल, बेसिक जिमका सञ्चालक भगिन्द्र भट्टराई, युवा ब्यवसायी लक्ष्मीकुमार तामाङ, कमल भण्डारी, रोशन भुर्तेल, माया गुरुङ, उषा गुरुङ, निर्मला गौतम, गृहकी सचिब तेजप्रसाद घिमिरे, सदस्य प्रलाद थापालगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा गृहकी अध्यक्ष बरालले बर्षेनी बनभोज कार्यक्रम आयोजना गर्ने सहयोगी टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो । सहयोगी टिमकी संयोजक ममता रानाले निरन्तर बार्षिक रुपमा बनभोज कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । वनभोजका लागि पशुपति आमाबि उर्लाबारी–७ ले निःशुल्क बसको ब्यवस्था मिलाएको थियो ।