
उर्लाबारी, दशैं तिहारको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि उर्लाबारीमा म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । उर्लाबारी नगरपालिकाको अनुगमन टोलीले स्थानीय किराना, होटल र फलफुल पसलबाट जफत गरिएका म्याद गुज्रिएको सामग्रीलाई नष्ट गरिएको हो ।
दर्जन बढी पसलमा फेन्टा, डिउ, कोक, चाउचाउ, बिस्कुट, आलुचिप्स, डेरी घिउ, कुरकुरेलगायतका सामग्री म्याद गुज्रिएको भेटिएको अनुगमन टोलीमा रहेका उर्लाबारी नगरपालिकाका नगर प्रहरी प्रमुख यामबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार बजार अनुगमन गर्ने क्रममा कतिपयले व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, बिल जारी गरी कारोबार नगर्ने गरेको, पसलमा साइबोर्ड, मूल्यसूची नराखिएको र म्याद नाघेका खाद्य सामग्रीहरु बिक्री वितरण गर्ने गरेको भेटिएको थियो । दर्ता नगरी सञ्चालन गरिएका र दर्ता नविकरण नगरेका व्यवसायहरुलाई समयमै दर्ता र नवीकरण गर्न निर्देशन दिइएको उर्लाबारी नगरपालिकाका उपप्रमुख मीना खतिवडा पौडेलले बताउनुभयो ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्यन्न सामग्रीहरुलाई नगर प्रहरीहरुकै रहोबरमा नष्ट गरिएको छ ।