
उर्लाबारी, शिलान्यास भएको डेढ वर्ष वितिसक्दापनि सन्थाल एकीकृत बस्ती निर्माणको काम अलपत्र परेपछि सो परियोजनालाई मुर्तरुप दिन उर्लाबारीका मेयर गंगाप्रसाद खरेलले अग्रसरता लिनुभएको छ । उर्लाबारी – ९ स्थित रातेहोली किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सन्थाल बस्तीको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । तर, शिलान्यास भएको यतिका समय वितिसक्दापनि काम सुरु हुन सकेको छैन । कुल ३१ हजार ७६८ वर्गमिटरमा निर्माण गर्ने तयारीसहित शिलान्यास भएको बस्तीमा अहिलेसम्म ठेक्का लाग्नेबाहेक कुनै पनि काम हुन सकेको छैन ।
शुक्रबार मेयर खरेलले बस्ती निर्माण स्थलका सरोकारवालाहरु संग घनिभुत छलफल गर्नुभएको छ । दुर्गापुरीस्थित वडा कार्यालय परिसरमा सरोकारवालाहरुका गुनासो सुन्दै मेयर खरेलले सबै पक्षलाई मिहिन ढंगले समेटेर परियोजनाको सफल कार्यान्वयन गरिने बताउनुभयो । परियोजना निर्माण स्थलमा यसअघि जोतभोग गर्दै आएका परिवारका लागि आवश्यक पर्ने व्यवस्थापकीय, आर्थिक, कानुनी र सामाजिक पक्षलाई सम्बोधन गरिने उहाँको भनाई थियो । सहरी विकास मन्त्रालयको गुरुयोजनाअनुसार अगाडि बढेको बस्ती निर्माण प्रक्रिया जग्गा विवादको कारण रोकिएको हो । ४० वर्षदेखि स्थानीयले चर्चेको जग्गा छाड्न नमानेपछि अन्योल भएको र एकीकृत बस्ती विकास गर्दा सबै कुरा कसरी मिलाउने भन्नेमा सरोकारवालासंग छलफल गरिएको वडा नम्बर ९ का अध्यक्ष नरबहादुर तामाङले बताउनुभयो ।