
मिलन के राउत
उर्लाबारी, न्यायिक समितिका कामलाई व्यवस्थित र वैज्ञानिक ढंगले प्रभावकारी बनाउने उद्देश्यले उर्लाबारी नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरुलाई तालिमका लागि एक दिवसीय अभिमुखिकरण सम्पन्न भएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम मेयर गंगाप्रसाद खरेलले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
तालिममा मेलमिलापकर्ताको गुण, आचरण, महत्व, आवश्यक्ता, व्यवहारिक ज्ञान, कानुनी मस्यौदा, मेलमिलाप गर्न हुने विवाद, न्यायिक समितिले हेर्न हुने विवाद, मेलमिलापका चरणहरु, आदि विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति सयोजंक मीना खतिवडा पौडेलले न्यायिक समितिका कामहरू प्रभावकारी बनाउने र नगरपालिकाका प्रत्येक वडा – वडामा आउने विवादलाई मेलमिलापकर्ताको माध्यमबाट छिटो छरितो ढगंले समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,– विभिन्न विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्दा प्रभावकारी हुन्छ, वडाका जनताबीच हार्दिकता ल्याउने गरी काम गर्न मेलमिलापकर्तालाई आग्रह गर्न चाहन्छु । यस्तै कार्यक्रममा बोल्दै अधिवक्ता गणेशराज लुइटेलले मुद्दाभन्दा मेलमिलापमै जोड दिन मेलमिलापकर्ताहरुलाई सुझाव दिनुभयो । उहाँले अहिले सबै निकायहरुमा मेलमिलापको माध्यमबाट अन्यायमा परेका व्यक्तिलाई न्याय दिने काम भैरहेको उल्लेख गनुृभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको आतिथ्यता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा उर्लाबारी नगरपालिकाका नौ वटै वडाका जनप्रतिनिधि, वडा सचिव र मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो। न्यायिक समिति सदस्य अमृता दासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अधिवक्ता लुइटेलले गर्नुभएको थियो । उर्लाबारी नगर नगरकार्यपालिका न्यायिक समितिको आयोजनामा भएको कार्यक्रमलाई समितिका सदस्य रुद्र लामिछानेले संचालन गर्नुभएको थियो ।