
उर्लाबारी । अरनिको माध्यमिक विद्यालय उर्लाबारी – ८ परिसरमा रहेको बहुउद्देश्यीय सभाहलको मंगलबार उर्लाबारीका नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि खरेलले विद्यालयबाहेकका कार्यक्रमलाई पनि उपयोग गर्न मिल्ने गरी सभाहल सञ्चाल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सभाहलको उचित प्रयोग हुनुपर्ने बताउनुभयो ।
यसैबीच कार्यक्रममा कक्षा १ देखि ९ कक्षाका जम्मा ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । समाजसेवी एवं राजनीतिकर्मी रुपेश खतिवडाले आफ्नै नाममा स्थापना गर्नुभएको छात्रवृत्ति कोषमार्फत विद्यार्थीलाई जनही ५ सय र विद्यालय पोशाक वितरण गरिएको थियो । नगर प्रमुख खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले विद्यार्थीलाई छात्रवृत्तिसंगै शिक्षक र दाताहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा उपप्रमुख पौडेल, राजनीतिककर्मी रुपेश खतिवडा, विद्यालयका प्रधानाध्यापक सुर्यमान सिरिङ लिम्बूलगायतले मन्तव्य राखेका थिए । उर्लाबारी ८ र ९ का वडाध्यक्षद्वय कुलबहादुर कार्की र नरबहादुर तामाङको पनि कार्यक्रममा आतिथ्यता रहेको थियो ।