
उर्लाबारी । मोरङको उर्लाबारीस्थित किरात याक्थुङ चुम्लुङ नगर शाखाको पांचौ नगर अधिवेशनले बानु सुब्बाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
याक्थुङ चुम्लुङको शुक्रबार उर्लाबारी–९, दुर्गापुरीमा भएको अधिवेशनले सुब्बालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नगर शाखाका उपाध्यक्षमा अमर सेलिङ, सचिवमा अन्जु सम्बाहाङ्फे, सहसचिवमा अम्विका सेरेङ र कोषाध्यक्षमा कर्ण मादेम्बा रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा भक्त तिलिङ चोङवाङ, देउमान लिम्बु, सुसन लिम्बु र धनराज कुरुम्बाङ रहनुभएको छ । लिम्बु जातीको भाषा, लिपी, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि क्रियाशिल यस समितिको कार्यकाल तीन वर्षको रहने छ । चुम्लुङकै अगुवाईमा वर्षेनी लिम्बु जातीको महान चाड चासोक तङनाम र महत्वपुर्ण चाड कक्फेक्वा तङनाम मनाउने गरिएको छ । मंसिरे पुर्णिमाको दिन उर्लाबारी–९ आम्बारीमा चासोक तङनाम र माघ १ गते उर्लाबारी–३ मंगलबारेमा कक्फेक्वा तङनाम मनाउने प्रचलन छ ।