
उर्लाबारी । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायको महान पर्व जात्री आजबाट सकिएको छ ।
प्रत्येक वर्ष वैशाख २ गतेदेखि सुरु भएको जात्री टोलटोलमा मनाएर आज असार २ गते उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यालय परिसरमा वृहत कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा बृहत कार्यक्रमसहित जात्री सम्पन्न भएको छ । धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको सभापतित्वमा भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल), नेकपा माओवादी केन्द्र उर्लाबारीका नगरअध्यक्ष गजेन्द्र दंगाललगायतले बोल्नुभएको छ । कार्यक्रम सञ्चालन महासचिब मात्रिका धिमालले गर्नुभयो । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने अल्पसंख्यक धिमाल जातिको जात्री पर्व मोरङको लेटाङ–१, भोगटेनीस्थित राजारानी महाराजस्थानमा प्रत्येक वर्ष वैशाख २ गते पूजाआजा गरेपछि सुरु हुन्छ । अघिल्ला दुई वर्ष कोरोनाले प्रभावित भएको जात्री पर्वलाई यस वर्ष उल्लासमय रूपमा मनाइएको धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालले जानकारी दिनुभयो ।