
उर्लाबारी । उर्लाबारी परिवार हङकङले स्थापना गरेको दिलिपकुमार राई स्मृति कोषबाट दुई जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ ।
आज उर्लाबारी–२ स्थित सुनपकुवा माध्यमिक विद्यालयमा अध्ययरत दुई जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो । कक्षा ११ मा अध्ययरत आँचल गिरी र सुनिल खड्कालाई छात्रबृत्ति स्वरुप जनही नगद २० हजार रुपैयाँ प्रदान गरिएको उर्लाबारी हङकङ परिवारका सल्लाहकार संयोजक पूर्ण वाइबाले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजान्त्र पार्टी प्रदेश नं. १ का सदस्यसमेत रहनु भएका वाइबाका अनुसार आर्थिक अवस्था कमजोर भएकार र जेहेन्दार विद्यार्थीहरुलाई बर्सेनी राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ का पूर्व प्रधानाध्यापक दिलिपकुमार राईको स्मृतिमा छात्रबृत्ति प्रदान गर्दै आएको छ । पैसाको अभावका कारण जेहेन्दार विद्यार्थीहरु पढाईबाट बञ्चित हुनु नपरोस् भन्ने हेतुले कोषको स्थापना गरिएको उहाँको भनाई छ । उर्लाबारी परिवार हङकङका सदस्य बम पोमुले जेहेन्दार विद्यार्थीहरुलाई बर्षेनी सहयोग गर्दै जाने बताउनुभयो । उहाँले ब्यवहारिक र बैज्ञानिक शिक्षा लागु गर्न आवश्यक रहेको बताउनुभयो । उर्लाबारी परिवार हङकङका सचिब सुरेश पालुङ्वा, कोषाध्यक्ष देबी लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेर उर्लाबारी परिवार हङकङले प्रशंसायोग्य काम गरेको बताउनुभयो । सामुदायिक विद्यालयको विकास र सुधारमा लागि वडा कार्यालयसमेतले सहजिकरण गर्ने काम गरिरहेको उहाँको भनाई छ । त्यस्तै, विद्यालय अभिभावक संघका अध्यक्ष ज्योति थापाले पनि उर्लाबारी परिवार हङकङलाई धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण दाहालको सभापतित्वमा भएको थियो ।