
उर्लाबारी, प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ । उर्लाबारी–३ स्थित चन्दने खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा झापाको दमक नगरपालिकालाई पराजित गर्दै गलकोटले उपाधि रक्षा गरेको हो । गलकोटले दमकलाई २५–१८, २५–१६, २४–२६ र २५–२० अंकले पराजित गरेको हो ।
उपाधिसँगै गलकोटले नगद १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता दमकले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोलगायत अतिथिहरुले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
संसारीमाई जल्पादेवी मन्दिर व्यवस्थापन समिति र योसेक क्लबको संयुक्त आयोजनामा चैत ८ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिता अन्तर्गत फाइनल खेलको म्यान अफ दि म्याच दमकका रोमन बस्नेतले नगद २ हजार प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडी घोषित गलकोटका राजु विकले ५ हजार नगदसहित ट्रफी प्राप्त गरे ।समापन कार्यक्रम योसेक क्लबका अध्यक्ष भीष्म बुढाथोकीको सभापतित्वमा भएको थियो ।