
उर्लाबारी । मोरङको उर्लाबारीमा आजदेखि सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ६ विजयी भएको छ ।
उर्लाबारी फुटबल क्लबको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोतिाको उद्घाटन खेलमा वडा नं. ३ लाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो संस्करणको विजेता वडा नं. ६ विजयी भएको हो । पहिलो हाफमा बराबरी खेलको वडा नं. ३ दोस्रो हाफमा सम्हालिन सकेन । वडा नं. ६ को जितमा जंगबहादुर खड्का नायक बने । उनले दोस्रो हाफको ४९ मिनेट र ६२ मिनेटमा गोल गरे । दुबै गोल गरेर वडा नं. ६ लाई सेमिफाइनलमा पु¥याएका खड्का खेलको म्यान अफ द म्याच पनि भए ।
वडा नं. ६ बाट ए डिभिजन क्लबबाट खेल्ने मिक्चेन तामाङ र एकराज बुढाथोकी पनि खेलेका थिए । खेलको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका लागि परेको उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष दिपेन्द्र धिमालको सभापतित्वमा भएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य संयोजक विशाल तामाङले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिब भीष्म बुढाथोकीले गर्नुभएको थियो । भोलीको खेल वडा नं. ५ र ९ बीच हुने क्लबका कोषाध्यक्ष योगराज फागोले जानकारी दिनुभयो ।