
विराटनगर । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले प्रदेश १ बाट १० जना नयाँ अनुहारसहित ३२ जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ ।
आइतबार सम्पन्न महाधिवेशनले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समितिको नामावली सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये प्रस्ताव गरेका २३६ जनामा प्रदेश १ बाट पुराना २२ र नयाँ १० जना समेटिएका छन् । केन्द्रीय समितिको लागि खुल्लातर्फ १५४ जना र समावेशीतर्फ १५४ जनाको कोटा थियो । सम्मेलनले खुल्लातर्फ १११ जनालाई निर्वाचित गरेको छ । यस्तै समावेशीतर्फ १२५ जना निर्वाचित भएका छन् । अब खुल्लातर्फ ३४ जना र २९ जना मनोनयन गरिनेछ ।
प्रदेश १ बाट केन्द्रीय समितिका लागि खसआर्य युवा महिला कोटाबाट मोरङकी गीता तिम्सिना, मधेशी युवाबाट सुनसरीका सुरेन्द्र मेहता, जनजाति महिलाबाट मोरङकी ममता ताजपुरिया, जनजातिबाट पाँचथरकी सीता थेबे, होमकुमारी खापुङ र उदयपुरकी मणी खम्बू केन्द्रीय सदस्य बनेका छन् । यस्तै, थारु युवाबाट मोरङका अमनलाल मोदी, घाइते अपाङ्ग कोटाबाट ओखलढुंगाकी चम्पा कार्की, खसआर्य महिला कोटाबाट झापाकी लक्ष्मी न्यौपाने र दलित महिला कोटाबाट धनकुटाकी धनमाया वि.क. केन्द्रीय सदस्य बनेका छन् ।
अध्यक्ष प्रचण्डले बन्दसत्रमा पुराना २२ केन्द्रीय सदस्यहरुलाई कायम राख्दै १०ं नयाँ अनुहारलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका थिए । प्रदेश १ मा पुराना केन्द्रीय सदस्य रहेका नेताहरुलाई विभिन्न क्लस्टरमा समेटेर बन्दसत्रको हलमा केन्द्रीय सदस्यको रुपमा प्रस्ताव गरिएको थियो ।
प्रदेशका ईञ्चार्ज रहेका सुरेन्द्रकुमार कार्कीसहित सावित्रिकुमार काफ्ले (मोरङ), सुरेश राई (उदयपुर), पदम राई (भोजपुर), राजेन्द्र कार्की (संखुवासभा), सुदन किराँती (भोजपुर), किरण राई (सुनसरी), एकचन्द्र बराल (सुनसरी), हेमराज भण्डारी (धनकुटा), शिबकुमार बस्नेत (सोलुखुम्बु) र गोपी अछामी (मोरङ) खुलातर्फबाट केन्द्रीय सदस्य बनेका छन् ।
यसैगरी खसआर्य कोटाबाट धिरेन्द्र शर्मा (इलाम), धर्मशीला चापागाई (झापा), समिता कार्की (खोटाङ), खसआर्य युवाबाट दुर्गा चापागाईं (तेह्रथुम), मधेशी कोटाबाट शिबकुमार मण्डल (मोरङ), जनजाति कोटाबाट अजम्बर राई (भोजपुर), रामकुमार राई (खोटाङ), जनजाति युवा कोटाबाट इन्द्रबहादुर आङ्बो (पाँचथर) र हेमकुमार राई (सोलुखुम्बु) केन्द्रीय सदस्य बनेका छन् । जनजाति महिलातर्फबाट दुर्गाजयन्ती राई (खोटाङ) र थारु महिला कोटाबाट रामकुमारी चौधरी (सुनसरी) केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
महाधिवेशनबाट लेखा आयोगको अध्यक्षमा निर्वाचित पेशल खतिवडा र अनुशासन आयोगको अध्यक्षमा निर्वाचित टंक राई पनि प्रदेश १ कै हुन् । उनीहरु पार्टीको स्थायी समिति सदस्य सरहको हैसियतमा रहने बिधानमा व्यवस्था छ ।
पार्टीको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुको बैठकले पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गरेको छ । केन्द्रीय समितिले पछि ६३ जना केन्द्रीय सदस्य मनोनित गर्नेछ । मनोनिततर्फ पनि प्रदेश १ बाट केहि नेताहरु केन्द्रीय सदस्य बन्ने बताइएको छ ।