उर्लाबारी, १६ वर्षअघि मोरङको उर्लाबारीमा स्थापना भएको जीवन बचाउ उपचार सेवा गृहले १ हजार ८ सय बढी दुर्व्यसनीको उपचार गरेको छ । दुर्व्यसनमा फसेकाहरुलाई उपचारात्मक, सुधारात्मक उपाय तथा सभ्य नागरिक बनाउने उद्देश्यले स्थापना भएको संस्थाले १६ वर्षमा १ हजार ८ सय ४५ जनाको उपचार गरेको आज आयोजित वार्षिक साधारणसभामा जानकारी गराइयो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष शेरबहादुर कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘यहाँ उपचार पाएका बिरामीहरु उपचारपछि असल कर्ममा लागेका छन्’, उनले भने, ‘नयाँ जीवन पाएसँगै कोही व्यापार, कोही वैदेशिक रोजगारी, कोही राजनीति त कोही सरकारी जागिरे भएका छन् ।’
संस्थाले गत आर्थिक वर्षमा मात्र १४५ जना दुव्र्यसनीको उपचार गरेको जनाउँदै इञ्चार्ज रविन्द्रप्रसाद दाहालले हाल २६ जना बिरामी उपचाररत रहेको जनाए । यहाँ ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, झापा, सप्तरीलगायतका जिल्लाका विरामी उपचारमा आउने गरेको उनले बताए ।
साधारणसभाकै अवसरमा प्रमुख अतिथि फागोले जीवन बचाउ उपचार सेवा गृह परिसरमा निर्माण गरिएको प्रतिक्षालयको उद्घाटन गरे । स्व. उपेन्द्र थापाको सम्झनामा उनका छोराहरु विजय, भुपाल, पवन र नवीन थापाको १ लाख सहयोग तथा संस्थाको १ लाख ९९ हजार ११२ रुपैयाँ गरी २ लाख ९९ हजार ११२ रुपैयाँको लागतमा प्रतिक्षालय निर्माण सम्पन्न भएको संस्थाले जनाएको छ ।
अध्यक्षमा पुनः कार्की
उर्लाबारी–७ स्थित जीवन बचाउ उपचार सेवा गृहको अध्यक्षमा पुनः शेरबहादुर कार्की चयन भएका छन् । आज सम्पन्न संस्थाको १६ औं वार्षिक चुनावी साधारणसभाले कार्कीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा टंकबहादुर बस्नेत, सचिवमा अम्बिका निरौला, सहसचिवमा कुलबहादुर मगर र कोषाध्यक्षमा पवन थापा चयन भएका छन् । यस्तै, सदस्यहरुमा प्रकाश अधिकारी, सुरेन्द्र कार्की, विश्वास बुढाथोकी, दुर्गा वेघा लिम्बू, मञ्जु परियार र हर्कबहादुर तामाङ तथा लेखा समिति संयोजकमा दीपेन्द्रकुमार दास, लेखा सचिवमा गोपाल गौतम र सदस्यमा सुभाष अधिकारी रहेका छन् ।
ADVERTISEMENT