उर्लाबारी । उर्लाबारी जेसीजको बार्षिक साधारणसभा तथा शाखा अधिवेशन सुरु भएको छ ।
उर्लाबारी–६ स्थित उर्लाबारी जेसीजको भवनमा आजदेखि सुरु भएको साधारणसभा तथा अधिवेशन भोलीसम्म चल्नेछ । प्रत्येक बर्ष नयाँ नेतृत्व चयन हुने जेसीज उर्लाबारीको नयाँ नेतृत्वको दौडमा लोलिम पोमु, सिताराम ओझा, अशोक धिमाल,तारानाथ दाहाल, प्रदिप खनाल, विशाल बाहेतीलगायतको नाम चर्चामा रहेको बुझिएको छ । सर्वसम्मत चयन भएको खण्डमा मात्र नेतृत्व लिने पक्षमा ओझा देखिएका छन् भने पोमु, दाहाल र धिमाल चुनाबी प्रक्रियाबाट भएपनि नेतृत्व हत्याउने योजनामा रहेको जानकार स्रोत बताउँछ । नेतृत्वमा आफ्नो पक्षलाई जिताउन विभिन्न समूह सक्रिय रहेको बुझिएको छ । पोमु अरनिको हस्पिटलका अध्यक्ष एबं युवा समाजसेबीको रुपमा परिचित छन् भने धिमाल र दाहाल युवा ब्यवसायी हुन् । ओझा भने एनएमबी बैंक उर्लाबारीका शाखा प्रमुख हुन् । बोहती तथा खनाल पनि युवा ब्यवसायीको रुपमा परिचित छन् । पोमु, दाहाल र धिमालले आफ्नो पक्षमा मतसमेत मागिरहेका छन् । यी तिनै जना भिड्ने सोचाईमा रहेको भएपनि अन्तिमसम्म के हुन्छ भन्ने चासोका साथ हेरिएको छ । ब्यक्तित्व र नेतृत्व विकासमा जोड दिँदै आएको जेसीजमा ४० बर्षसम्मका युवाहरु मात्र आबद्ध रहने गरेका छन् । विनोद ओलीलाई निर्वाचन आयुक्त तोकिएको छ ।
यस्तो छ तालिका
आज विहान ७ः३० देखि १०ः३० सम्म बार्षिक साधारणसभा, शाखा अधिवेशन तयारी दिउँसो १२ देखि ५ बजेसम्म, भोली नामावली प्रकाशन विहान ६ बजे, मतदाता नामावलीमाथी संसोधन, दाबी, विरोध विहान ६ बजेदेखि ७ः३० सम्म, अन्तिम मतदाता नामावली प्रकाशन विहान ७ः४५, उम्मेदवारी दर्ता विहान ८ देखि ९ बजेसम्म, उम्मेद्वारी नामावली प्रकाशन विहान १० बजे, उम्मेद्वारी संशोधन तथा दाबी विरोध विहान १०ः३० बजे, उम्मेद्वारको अन्तरवार्ता विहान १०ः३० देखि दिउँसो १२ बजेसम्म, उम्मेद्वारी फिर्ता १२ बजे सम्म, अन्तिम उम्मेद्वारी नामावली प्रकाशन दिउँसो १२ः१५ र ककस पश्चात दिउँसो १२ः३० बाट मतदान प्रक्रिया सुरु हुने जनाइएको छ ।
ADVERTISEMENT