
घनश्याम भण्डारी
उर्लाबारी । उर्लाबारीमा भाडामा सञ्चालन हुँदै आएको नेपाल बैंक उर्लाबारी शाखाले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । उर्लाबारी चौकको ट्याक्सी स्टेण्ड छेउमा नवनिर्मित भवनबाट कारोबार सुरु भएको हो ।
शाखाको स्रोत साधन र प्रविधियुक्त भवन निर्माण सम्पन्न भएपछि आफ्नै भवनबाट बैंकले सेवा सुरुवात गरेको शाखा प्रवन्धक सुनिल शाहले जानकारी दिनुभयो ।
बैंकको पाँच कठ्ठा जग्गामा करिब ४ करोड रुपैयाँको लागतमा डेढ तले सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ । उर्लाबारी शाखामा पूर्वी मोरङको उर्लाबारी, रतुवामाई, मिक्लाजुङ, पथरीशनिश्चरे, कानेपोखरी, लेटाङलगायत पालिकाका १० हजार ग्राहक रहेको शाखा प्रवन्धक शाहले बताउनुभयो । एटिएमसहितको नयाँ भवनमा सुरक्षाकर्मीसहित ११ जना जनशक्ति कार्यरत रहेको उहाँले जानकारी दिनुभयो । केही दिनमा औपचारिक कार्यक्रम गरि उद्घाटन गरिने भएपनि नयाँ भवनबाट कारोबार सुरु गरिएको छ ।