साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भुटानबीच दशरथ रंगशालामा शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको छ।

महिला साफको इतिहासमा नेपालले भुटानसँग यसअघिका सबै खेल जितेकोमा पहिलो पटक बराबरी खेल्न बाध्य भएको हो।

यस्तै यसअघिका ६ संस्करणमा नेपालले खेलेका खेलहरू कि जित, कि हारमा सकिएका थिए। नेपालले साफको इतिहासमा पहिलो पटक बराबरी खेलेको हो।

दशरथ रंगशालामा उपस्थित चार हजार दर्शकबीच भएको पहिलो हाफमा नेपालले पाएका अवसर सदुपयोग गर्न सकेन।

नेपालका लागि रश्मीकुमार घिसिङले दुइटा अवसर पाए पनि खेर फालिन्। उनको एक प्रहारलाई भुटानी गोलकिपर संगीता मोनगेरले विफल पारेकी थिइन्।

यस्तै सविता रानामगरले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न सकिनन्।

४०औं मिनेटमा नेपालले डिबक्स भित्र गोल गर्ने अर्को अवसर पाएको थियो। डिबक्स भित्र प्राप्त तीन अवसरमा नेपाली खेलाडीहरूको भुटानी खेलाडीहरू बाधक बनेका थिए।

दोस्रो हाफमा पनि नेपाल पाएको अवसरमा चुक्यो। दोस्रो हाफमा मैदान छिरेकी रेशा पौडेलका तीनटा स्पष्ट प्रहारलाई भुटानकी गोलकिपरले विफल पारिदिएकी थिइन्।

खेलमा नेपालले दुई खेलाडीलाई चोटका कारण गुमाएको थियो। पहिलो हाफमा हिराकुमारी भूजेल तथा दोस्रो हाफमा दीपा शाही घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए।

दोस्रो हाफको इन्जुरी समयमा अनिता बस्नेतले डिबक्स बाहिरबाट हानेको प्रहार पोलमा लागेर फर्किएको थियो।

खेलमा नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा भने अनुपस्थित थिइन्। उनी प्रतियोगिताका लागि आइतबार मात्र फ्रान्सबाट नेपाल आइपुग्नेछिन्।

समूह ‘बी’ अन्तर्गत यसअघि दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले पराजित गरेको थियो।

अब नेपालले सोमबार माल्दिभ्ससँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय