उर्लाबारी। उर्लाबारी नगरपालिकामा पनि आगामी असारभित्रमा जग्गाधनी पूर्जा वितरण गर्ने तयारी थालिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग उर्लाबारी नगरपालिकाले सोमबार विराटनगरमा सम्झौता गरेसँगै जग्गाधनी पूर्जा वितरण गर्ने तयारी सुरु भएको मेयर खड्ग फागोले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब तिब्र रुपमा नगरमा रहेका घरघरमा गएर लगत लिने, निवेदन लिने, फाराम भर्ने काम गराईनेछ । सम्पूर्ण पक्रिया पुरा गरेर आगामी असार भित्रैमा सुकुम्बासीलाई जग्गा धनी पूर्जा वितरण गरिने मेयर फागोले बताउनुभयो ।
विराटनगरमा सोमबार भूमिसम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहसँग जग्गाधनी पूर्जा वितरणका लागि सम्झौता गरेको हो । १ नम्बर प्रदेशका १३७ स्थानीय तहमध्ये सोमबार २७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ । यसअघि दुई वटा स्थानीय तहसँग सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भइसकेको छ । स्थानीय तहले दलित भूमिहीन, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरी लगत निकाल्ने र पूर्जा वितरणमा सघाउ पुर्याउन समझदारीपत्रको उद्देश्य रहेको छ ।