उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बूले उद्योगी तथा ब्यवसायीहरुको सल्लाह र सुझाव अनुसार नै उम्मेद्वार छानेको बताउनुभएको छ ।
पूर्वी कमाण्ड अनलाइनसँग कुराकानी गर्दै सभापति लिम्बूले उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा तारामान सेरेङलाई उठाउने निर्णय गरेको र सोही अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
‘वडा सभापति, नगर समितिका पदाधिकारी तथा सदस्यहरुको बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा सेरेङलाई उठाउने निर्णय गरेको हो’ उहाँले भन्नुभयो–‘यस निर्णयअनुसार नै सबैको साथ र सहयोग रहने अपेक्षा गर्दछु ।’ केही असन्तुष्टिका कुरा आएको उल्लेख गर्दै बसेर हल गर्न पार्टी तयार रहेको उहाँको भनाई छ । पार्टीले उद्योगी तथा ब्यवसायीहरुको हितमा काम गर्न सक्ने उम्मेद्वारलाई छानेको उहाँको दाबी छ । उहाँले पार्टीको हित विपरीत कार्य नगर्न पनि सबै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।