
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–३ मा रहेको निसेलुङ फर्न पार्क कार्तिक १९ गते उद्घाटन गरिने भएको छ ।
मिक्लाजुङको उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा निसेलुङ फर्न पार्कलाई विस्तार गर्ने लागिएको हो । निसेलुङ भ्यूटावरसहित १० बर्षका लागि लिजमा लिएर निसेलुङ फर्न पार्क प्रा.लि.ले उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन लागि परेको छ । हालसम्म १ करोडभन्दा बढी लगानी गरिसकेको प्रा.लि. का सञ्चालक इन्द्रमणि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्तिक १९ गते सांगितिक कार्यक्रमका साथ उद्घाटन गरिने छ । गायिका सुनिता थेगिमलगायतको सांगितिक प्रस्तुति रहने उहाँले बताउनुभयो । नेपालमै पहिलो पटक उल्टो घर निसेलुङमा निर्माण गरिएको उहाँले दाबी गर्नुभयो । त्यसका अलवा यहाँको आकर्षणको रुपमा पिरतिको गाउँ, बाल उद्यानलगायत बन्ने उहाँको भनाई छ । निसेलुङ भ्यूटावरबाट तराईका फाँटहरूको दृश्यावलोकन गर्न सकिने अर्का सञ्चालक टेकनाथ चापागाई बताउनुहुन्छ । उहाँले सबैलाई एक पटक निसेलुङ फर्न पार्कको अवलोकन गर्न पनि अनुरोध गर्नुभएको छ । फर्न पार्कमा प्रवेश शुल्क १ सय राखिएको उहाँले बताउनुभयो ।
निसेलुङ ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र मादेनले १० बर्षका लागि निसेलुङ फर्न पार्कलाई लिजमा दिएको बताउनुभयो । हालसम्म भ्यूटावर निर्माणमा राज्यको ८० लाख भन्दा बढी खर्च भइसकेको र अब सो फर्न पार्क प्रा.लि. ले लगानी गर्ने जानकारी दिनुभयो । मिक्लाजुङकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन लागि परेको उहाँको भनाई छ ।
मिक्लाजुङ–३ मा पर्ने निसेलुङ आन्तरिक र बाह्य पर्यटकहरुको रोजाई बन्नेमा पूर्व सांसद कुलप्रसाद साम्बा कुशलले विश्वास ब्यक्त गर्नुभयो । मिक्लाजुङको पर्यटन विकासमा निसेलुङको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।