झापा । अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको ‘परदेशी २’ यही शुक्रबार अर्थात असोज २६ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ ।
मंगलबार झापाको दमकमा पत्रकार भेटघाट गर्दै ‘परदेशी २’ टिमले राम्रो चलचित्र निर्माण गरिएकाले एक पटक हलसम्म पुगेर हेरिदिन दर्शकलाई आग्रह गरेका छन् । अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेश वंशल पत्रकार सम्मेलनमा उपस्थिति हुनुभएको थियो । अभिनेता प्रकाश सपुतले ‘परदेशी २’ राम्रो फिल्म बनेको प्रतिकृया दिनुभयो । सबै नेपालीहरुको कथा वस्तु समेटिएको फिल्म भएकाले अवश्य एक पटक हलसम्म पुगेर फिल्मी हेरिदिन उहाँले आग्रह गर्नुभएको छ । उहााले पहिलो चलचित्रमार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताउनुभयो ।
त्यस्तै, अभिनेत्री वर्षाले मौलिक नेपाली कथामा चलचित्र बनेकाले सम्पूर्ण दर्शकले ‘परदेशी २’ हेर्न नछुटाउनु अनुरोध गर्नुभएको छ । निर्माता राजेश वंशल परदेशीको कथा वस्तु समेटिएकाले सबैले एक पटक हेर्नै पर्ने चलचित्र बनाएको दाबी गरेका छन् । अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘परदेशी–२’ नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ ।
यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो निर्देशकीय फिल्म हो । फिल्म निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गर्नुभएको छ । फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । चलचित्रको कथा तथा पटकथा रमेश बिजीले लेख्नुभएको हो भने मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गर्नुभएको छ ।
ADVERTISEMENT