उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रादेशिक महोत्सवमा गायिका अस्मिता अधिकारी र गायक प्रताप दासले माहोल तताएका छन् ।
आज साँझ उनीहरुले प्रस्तुति दिँदै चिसो मौसम तताएका हुन् । उल्लेखिय दर्शकको सहभागितामा भएको सांगितिक कार्यक्रममा गायिका अधिकारी र गायक दासले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
भोली गायिका एलिना चौहानको प्रस्तुति रहने आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिनुभयो । ९ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक समितिका सह–संयोजक प्रितम खड्गीले जानकारी दिनुभयो । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिएको महासचिब हेमराज गुरुङले जानकारी दिनुभयो ।