
उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न दोस्रो वडास्तरीय ब्याटमिन्टन प्रतियोगिताको उपाधि वडा नं. ३ ले जितेको छ ।
उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग र उर्लाबारी ब्याटमिन्टन क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा वडा नं. ४ लाई पराजित गर्दै वडा नं. ३ ले उपाधि जितेको हो । उर्लाबारी–४ स्थित खडानन्द खतिवडा स्मृति कवर्ड हलमा भएको खेलको पहिलो सेट वडा नं. ४ का फडिन्द्र दाहाल र धुब्र खत्रीले जितेपनि दोस्रो र तेस्रो वडा नं. ३ का राजु कटुवाल र राजनहाङ लावतीले जित्नुभयो । पहिलो हुने उर्लाबारी–३ ले नगद २० हजार, मेडल, प्रमाणपत्र र ट्रफी हात पारेको छ भने दोस्रो उर्लाबारी–४ ले १० हजारमा चित्त बुझाएको छ । त्यस्तै, तेस्रो वडा नं. ५ का हंश फागो र उत्तम मगर तथा वडा नं. ९ का सञ्जय घिसिङ र अर्जुन नाल्बो हुनुभयो । उहाँहरुले पाँच हजार पुरस्कार पाउनुभयो ।
त्यस्तै, भेट्रानतर्फ वडा नं. ९ का अर्जुन नाल्बो र गोपाल राईले उपाधि जित्नुभयो । उहाँहरुले नगद १५ हजार प्राप्त गर्नुभयो । दोस्रो वडा नं. ५ का हंश फागो र कोमल शाक्य हुनुभयो भने तेस्रो वडा नं. ६ का सुरेन्द्र कार्की र प्रेमदावा तामाङ तथा वडा नं. ४ का बासु घिमिरे र हेमराज ढुंगाना हुनुभयो । दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै, बि डिभिजनमा वडा नं. ८ का पोष्ट मगर र पूर्ण गुरुङले उपाधि जित्नुभयो । उहाँहरुले नगद १५ हजार प्राप्त गर्नुभयो । दोस्रो वडा नं. ६ का सुरेन्द्र कार्की र प्रेमदावा तामाङ हुनुभयो भने तेस्रो वडा नं. ५ का चन्द्र लिम्बू र दिलु श्रेष्ठ तथा वडा नं ४ का प्रकाश ढुंगाना र नितन रेग्मी तेस्रो हुनुभयो । । दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मीना खतिवडा पौडेल, वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, नगर खेलकुद समितिका उपाध्यक्ष डिल्लीराम खतिवडा, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईलगायतको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष हंशबहादुर फागोको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिब हरि कटुवालले गर्नुभएको थियो ।