झिलझिले । झापाको शिवसताक्षीमा यहि फागुन १ देखि ५ गते सम्म ‘वाटर किंङ्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ आयोजना हुने भएको छ ।
शिवसताक्षी ८ स्थित वाटर किंङ्डम पार्क एण्ड रिसोर्ट प्रालिले आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो ।
सञ्चालक राजकुमार संग्रौलाले विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, कला, भाषा र लिपीलाई जगेर्ना गर्दै भावी पुस्तालाई सुशिक्षित गराई सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त बनाउन महोत्सव आयोजना गर्न लागिएको बताए ।महोत्सवमा कम्तिमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।
उनले महोत्सवमा प्रत्येक दिन अलग अलग समुदायका मौलिक परिकारहरुको फुड स्टल, बाजागाजा, हातहतियार, पोशाक, लिपीहरुको प्रदर्शनी गरिने बताए । महोत्सव अवधिभर पार्कले सर्वसाधरणका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।उनका अनुसार महोत्सवको अन्तिम दिन पूर्वमै पहिलोपटक नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीको सांगीतिक कार्यक्रम रहने छ । सो कार्यक्रम हेर्नका लागि भने प्रवेश शुल्क तोकिएको उनको भनाई छ ।
यो पार्क २०७७ सालबाट सञ्चालनमा आएको हो । संग्रौलाको करिब ५७ करोडको एकल लगानीमा पार्क सञ्चालन भइरहेको छ । पार्कमा एक बर्षमा एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् । उनले युवाहरुलाई समयसापेक्ष व्यवसायिक सीप माध्यमबाट स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आगामी बैशाखदेखि कुकिङ, कलिनरी आर्ट, बेकरी, बारिष्टालगायतका सीटिइभीटीबाट मान्यताप्राप्त व्यवसायिक कोर्षको समेत सञ्चालनको तयारी रहेको जानकारी दिए ।
पार्कमा मुख्य आषर्कणको रुपमा रहेको जीप लाइन राइडिङ, जीप साइक्लिङसहित स्विमिङ पुल, बेभपुल, सावर डान्स, वाटर स्लाइड, किड पुलमार्फत पर्यटकलाई मनोरञ्जन दिने गरिएको उनको भनाई छ । प्रदेश नम्बर १ मै पहिलोपटक सञ्चालनमा आएको यस वाटर पार्कभित्रै सुविधासम्पन्न होटल,लज, रेस्टुरेन्ट, पाटी प्यालेससमेत सञ्चालनमा छ ।
महोत्सव अवधिभर विएण्डसी अस्पतालको विशेषज्ञ टोलीले निःशुल्क स्वास्थ्य शिविर साथै क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने पार्ककी सञ्चालिका मेनुका संग्रौलाले बताएकी छन् ।