
उर्लाबारी । सुरक्षित आप्रवासन परियोजना (सामी) ले स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आज उर्लाबारी नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सञ्चारकर्मीहरुसँग परियोजनाका बारेमा अन्तरक्रिया गरेको हो । सन् २०११ देखि परियोजना नेपालका ३९ जिल्लामा सञ्चालनमा रहेको सो अवसरमा जानकारी गराइयो । उर्लाबारीको वडा नं. १, २,४, ६, ८ र ९ मा सञ्चालन भइरहेको छ । मोरङ जिल्लाको उर्लाबारीसहित विराटनगर, रंगेली र कानेपोखरीमा पनि यो परियोजना सञ्चालित रहेको छ । कार्यक्रममा सामी परियोजना मोरङका संयोजक दिपक राउत र हेल्बेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरीले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा सामी परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रशासन कार्यालय उर्लाबारी र रंगेली पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्र्थापना कार्यक्रम गर्दै आएको जानकारी गराइयो ।
सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न मोरङमा जिल्ला प्रशासन कार्यालय विराटनगर, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रंगेलीमा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको संयोजक राउतले जानकारी दिनुभयो । हेल्वेटासका कार्यक्रम अधिकृत चौधरीले परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा संलग्न आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको सामाजिक, आर्थिक लाभ र आम्दानी वृद्धि भएको तथ्यांक रहेको बताउनुभयो । यस्तै, वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई व्यवसायिक सीप र तालिम दिलाउने साथै घरेलु महिला कामदारका लागि निर्धारित तालिम दिने दिलाउने कार्यमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकार र स्वीजरल्यान्ड सरकारबीच दुई पक्षीय सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोग र स्थानीय सरकारको अगुवाईमा देशका ३९ जिल्लाका १५६ स्थानीय तहमा यो कार्यक्रम सञ्चालनमा रहेको छ । मोरङ जिल्लाका चार पालिका विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा रहेको छ । सामीले सीपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, न्यायमा पहुँच, सूचनामा पहुँच लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।